कारोबार


अमेरिका जाँदा ठगिएका पाठक बने दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता

अमेरिका जाँदा ठगिएका पाठक बने दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता

नेपालखबर
माघ १३, २०८२ मंगलबार १९:५३, काठमाडौँ

नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ का विजेता ताराप्रसाद पाठक बनेका छन्।

हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजन, ‘मेरो सेरोफेरो’ युट्युब च्यानल तथा सिनर्जी एफएम चितवनबाट उक्त कार्यक्रम प्रसारण हुँदै आएको थियो। कार्यक्रममा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्ने २० जना किसान छनोट गरी प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा वासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो तथा धनमाया भण्डारी सान्त्वना भएका छन्। प्रथम स्थान हासिल गरेका पाठक विभिन्न पेसा छाडेर पशुपालनमा लागेको जनाइएको छ। उनी अमेरिका जाने क्रममा ठगीमा परेपछि पशुपालनमा फर्किएका थिए।

तेस्रो भएका महतो कुलत त्यागेर पशुपालनमा होमिएका जानकारी दिइयो। सान्त्वना प्राप्त भण्डारी र उनको परिवारको मुख्य पेसा पशुपालन रहेको जनाइएको छ। 

गाईका कल्चौँडोसँग अभ्यस्त किसानलाई बजारमा पुग्ने दूधका ‘ब्रान्ड एम्बेसडर’का रूपमा स्थापित गर्ने र पशुपालन पेसालाई मर्यादित एवं सम्मानित बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको आयोजकले जनाएको छ। 

उक्त शोमा किसानको दूध दुहुने सीपसँगै पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ र दूधको शुद्धताजस्ता पक्षहरूको मूल्याङ्कनका आधारमा विजेता घोषणा गरिएको कार्यक्रमका निर्माता रविन सुवेदीले जानकारी दिए।

उक्त कार्यक्रमले मेहनती किसानको सम्मानसँगै पशुपालक किसानको अवस्था देखाउनुका साथै नयाँ पुस्ताले बुझ्ने गरी मेहनत र सङ्घर्षका कथा रोचक ढङ्गले प्रस्तुत गरिएको सुवेदीले बताए। पहिलो संस्करणप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले नेपाल सरकारसँग सहकार्य गरी आगामी दिनमा पनि कार्यक्रमलाई थप जानकारीमूलक र बृहत् बनाउने योजना रहेको उनको भनाइ छ। 

कार्यक्रम संयोजक गोविन्द न्यौपानेले पशुपालनकै माध्यमबाट धेरै किसानले आर्थिक उन्नति हासिल गरेको अवस्थामा किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको उल्लेख गरे। खेती नामक संस्थाले मुख्य प्रायोजन गरेको कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको थियो।

प्रतियोगिताको निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा यज्ञराज पाण्डे रहेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad