सरकारले उद्योग तथा व्यवसाय क्षेत्रमा स्वचालित मार्ग अर्थात् अटोमेटिक रुटबाट नेपालमा भित्रिने लगानीको सीमा हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अटोमेटिक रुटको विदेशी लगानीको माथिल्लो सीमा खारेज गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
हाल यस्तो सीमा ५० करोड रुपैयाँसम्म थियो। तर सूचना प्रविधि क्षेत्रमा भने यस्तो सीमा लगाइएको थिएन।
योसँगै स्वचालित मार्गबाट आउने विदेशी लगानी बढ्ने आकलन गरिएको छ।
चालू आर्थिक वर्षको साउनदेखि पुससम्म अटोमेटिक रुटबाट ३१४ उद्योगका लागि २ अर्ब ८० करोडको प्रतिबद्धता आएको छ। पुसमा मात्र २१ करोड ९५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ।
Shares

प्रतिक्रिया