लकडाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन्।
लकडाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ। लकडाउनपछि रोकिएका कामहरु सुचारु गर्न जनप्रतिनिधिहरुले नै चासो देखाउन थालेका छन्।
काम स्थगित भएको काठमाडौं महानगरपालिका अन्तर्गतको चमती जग्गा एकीकरण आयोजनाको निर्माण कार्य सुचारु गर्न सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पहल थालेका छन्।
राज्यमन्त्री मानन्धरको पहलमा निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीलाई सवारी पास उपलब्ध गराइएको छ । समयमै कम सम्पन्न गर्ने प्रतिवद्धता पुरा गर्न सात दिने सवारी पास उपलब्ध गराइएको उनले बताए।
काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पास उपलब्ध भएपछि निर्माण कार्य अगाडि बढ्ने संकेत देखिएको बताए। लकडाउनका कारण रोकिएको काम अब समयमै सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।
निर्माण कम्पनी गौरीसंकर हिमालय कन्सट्रक्सनका दिलिप बहादुर मोक्तानले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
२०७६ जेठमा सम्झौता भएको आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ । २४ करोडमा ठेक्का सम्झौता भएको थियो।

प्रतिक्रिया