अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु भएको छ।
अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज भव्य कार्यक्रम, पञ्चेबाजा र विभिन्न झाँकीसहित सुरु भएको हो। स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए।
महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री दिनेश पन्थीले मेला महोत्सवले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने बताए। स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुको बिक्री–वितरणमा महोत्सवबाट मद्दत पुग्ने बताए।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्थतन्त्र सुधारमा मेला महोत्सवको भूमिका रहेको बताए। उनले मेलामा सहभागी भएर सस्तो मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा लिएर उपयोग गर्न पनि अर्घाखाँचीवासीलाई अनुरोध गरे।
महोत्सवको उद्घाटनमा स्थानीय लोकभजन, लाखेनाच, पञ्चेबाजा सहितका स्थानीय विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो। प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न सके अर्घाखाँचीमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँचीको स्थानीय उत्पादनको बिक्री–वितरण र पर्यटकीयस्थलको प्रचारप्रसारमा महोत्सवले भूमिका खेल्ने बताउँदै अर्घाखाँची चुनढुङ्गाको पनि राम्रो सम्भावना भएको जिल्ला भएको बताएका छन्।
Shares

प्रतिक्रिया