कारोबार


बैंकमा थन्कियो बिमा कम्पनीको झण्डै ७ खर्ब, निक्षेप राख्न रोकेन सस्तो ब्याजदरले

बैंकमा थन्कियो बिमा कम्पनीको झण्डै ७ खर्ब, निक्षेप राख्न रोकेन सस्तो ब्याजदरले

नेपालखबर
पुस २७, २०८२ आइतबार १५:५६, काठमाडौँ

बिमा कम्पनीहरूले लगानी गर्नपुर्ने रकम सस्तो ब्याजमै बैंकमा थुपारेका छन्। जीवन बिमा कम्पनीहरूसँग रहेको ६ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ बैंकमा थन्किएको हो।

अहिले पछिल्लो एक दशकयताकै सस्तो ब्याज छ। यसको अर्थ उनीहरुको ब्याज आम्दानी घटिरहेको छ। तर बीमा कम्पनीहरूले लगानी स्थानान्तरण गर्न सकिरहेका छैनन्। 

राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरूको औसत आधारदर ५.३८ प्रतिशत मात्रै छ। यो पछिल्लो १० वर्षयताकै कम हो। सामान्यतया बैंकहरूको ब्याजदर दोहोरो अंकमा हुँदा कम्पनीहरूले बैंकमा गर्ने निक्षेप लगानीलाई सुरक्षित लगानीको रुपमा लिने गर्थे। अन्य क्षेत्रमा जोखिम देखेरै बैंकको ब्याज आम्दानीमै रमाएका यी कम्पनीहरू अहिले ब्याज सस्तिएर आम्दानीमा असर पर्ने अवस्था आउँदा पनि लगानी स्थानान्तरण गर्न सकेका छैनन्। 

केन्द्रीय बैंकका अनुसार पछिल्लो पाँच महिनामा बिमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूमा न्यून ब्याजदरमै १५ अर्ब २२ करोड बराबरको लगानीयोग्य रकम निक्षेपमा जम्मा गरेका छन्। योसहित बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा बीमा कम्पनीहरूलको लगानी कुल ६ खर्ब ७८ अर्बमाथि पुगेको छ। 

असार मसान्तसम्म पुनर्बिमासहितका बिमा कम्पनीहरूसँग कुल ८ खर्ब  ७० अर्ब बराबरको लगानीयोग्य रकम थियो। जसबाट बीमा कम्पनीहरूले २ खर्ब ७ अर्ब रकम मात्रै अन्य क्षेत्रमा लगानी गरेका थिए भने बाँकी ७६ प्रतिशत रकम निक्षेपमै थुपारेका थिए। 

मंसिर मसान्त सकिँदासम्म बिमा कम्पनीहरूले आम्दानी घटाएरै भए पनि कुल लगानीको ७७ प्रतिशत रकम निक्षेपमै राखेका हुन्। 

बिमा प्राधिकरणले २०८० पुसमा जीवन बिमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८० जारी गर्दै १२ वटा क्षेत्रमा लगानीका लागि सीमा तोकेर बाटो खोलिदिएको थियो। तर सीमा तोकिए पनि सीमाभन्दा बाहिर गएर निक्षेप केन्द्रित देखिएका जीवन बिमकहरू ब्याज घटेपछि भने लगानी विविधीकरणका लागि सक्रिय देखिन थालेका छन्। 

तर कम्पनीहरूले सहायक इन्भेस्टमेन्ट कम्पनी खोले पनि लगानीमा भने विविधीकरण गर्नसकेका छैनन्। 

जोखिमको बहानामा बैंकहरूको ब्याजमै रमाउँदै आएका बीमा कम्पनीहरूले ब्याज सस्तिएर तल्लो सीमामा आइपुगेपछि आम्दानी गुमाउने आकलनका बीच लगानीलाई इन्भेस्टमेन्ट कम्पनीमार्फत विविधीकरणमा तम्सिए पनि अन्ततः कुल लगानीयोग्य रकमको ७६ प्रतिशत रकम निक्षेपमै थुपारेका हुन्।

त्यसो त गत भदौमा सेयरबजारमा गर्ने लगानीमा पनि सीमा फराकिलो बनाइदिएको थियो। चालू आवको बजेटको आधाबराबरको लगानीयोग्य रकम बोकेर बसेका बिमा कम्पनीहरूको लगानी विस्तारका लागि प्राधिकरणले लचिलो नीति लिएको थियो। प्राधिकरणले लगानीसम्बन्धी नयाँ निर्देशन जारी गर्दै जीवन बिमा कोषको १५ प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो।

यसअघि जीवन बिमा कम्पनीहरूले कुल लगानीको १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे। तर लगानीको सीमा बढाइए पनि त्यसको प्रभाव भने बैंकमा राख्ने बिमा कम्पनीहरूको निक्षेपमा पर्न सकेको छैन। अहिले बैंकहरूलाई तरलता अधिकको समस्याले निक्षेप स्वीकार गर्न गाह्रो परिरहँदा पनि ठूलो रकम बोकेर बसेको बिमा क्षेत्रले ब्याज आम्दानी घटाएर बैंकहरूमै रकम राखिरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad