कारोबार


फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

फाइल तस्बिर


रासस
पुस २७, २०८२ आइतबार १३:५१, खोटाङ

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो। 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज आजदेखि सञ्चालनमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयले जनाएको छ। फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान भएपछि विगत छ महिनादेखि अवरुद्ध पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकमा सिधा यातायात सुरु भएको छ । 

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए।

“फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि करिब तीन घण्टाको दूरी छोटो भएको छ, यसले यातायात व्यवसायी र यात्रु दुवैलाई फाइदा हुन्छ”, उनले भने, “यो दीर्घकालीन समाधान होइन, यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।”

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ ले लिएको थियो। मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ९६ लाख ७७ हजार ९३७ मा ठेक्का सम्झौता गरेर फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको योजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सुभासकुमार तिवारीले जानकारी दिए। 

गत वर्ष असोज १२ गते राति आएको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको भीषण बाढीले फोक्सिङटारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो। फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात पूर्णरुपमा विच्छेद भएको थियो । 

करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्रु झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए।

फोक्सिङटारमा पुनःमोटरेबल पक्की पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन। फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनःनिर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहिरहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो। 

सुनकोसीकै बङ्शिलाघाटमा स्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ। खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने सुनकोसीस्थित बङ्शिलाघाटमा कोसी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो।

गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको बङ्शिलाघाटको अस्थायी बेलिब्रिज पुस पहिलो हप्ताभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने सम्झौतामा उल्लेख छ। आगामी विसं २०८३ जेठ पहिलो सातासम्म सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिजको लम्बाई ५१ दशमलव ८१ मिटर लामो छ। 

बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोसी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभयो। लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन्।

मोटरेबल पक्की पुल निर्माण भइरहेको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए। बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडानको काम सुरु गरिएको बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जराले जानकारी दिए। 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिए पनि त्यसले अहिलेसम्म खासै गति लिन सकेको छैन। तीन वर्ष आठ महिनाभित्र बनाइसक्ने गरी कालिका–बेदान्सी जेभीले विसं २०७७ पुस २८ गते ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको मोटरेबल पक्की पुलको पिलर ठड्याउने काममात्र भएको स्थानीय बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad