ad ad

कारोबार


वीरगन्ज तयार छ उद्योग चलाउन, अब सरकारी समन्वयको खाँचो

वीरगन्ज तयार छ उद्योग चलाउन, अब सरकारी समन्वयको खाँचो

सन्तोष न्यौपाने
बैशाख २३, २०७७ मंगलबार १२:३४,

सरकारले चरणबद्ध रुपमा उद्योग खोल्ने तयारी गरिरहेको बेला मुलुककै औद्योगिक हब मानिने वीरगन्जका उद्योगीले त्यसको लागि तयार रहेको बताएका छन्।

तर उद्योग खोल्नुभन्दा पहिला सरकारले सुरक्षा र समन्वयको काम गर्नुपर्ने व्यवसायीको जोडदार माग छ। उनीहरुका अनुसार सरकार, उद्योगी र कामदारबीच समन्वय गरेर उद्योग चलाउन सकिनेछ।

‘हामी उद्योग चलाउन तयारी अवस्थामा छौँ’, वीरगन्जका व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने, ‘सरकारको निर्देशन र नीतिको प्रतीक्षामा छौँ।’

हरेक जिल्लामा आआफ्नै समस्या छन्। कुनै जिल्लाले आफ्नो जिल्लामा प्रवेश नदिने भनिरहेका छन्। उद्योग सञ्चालन गर्न आवश्यक पर्ने कच्चा पदार्थ एक जिल्लाबाट अर्को जिल्लामा पुर्‍याउनुपर्छ।

सबै जिल्लाका वस्तुस्थिति फरक भएकाले केन्द्रीय सरकारको निर्देशन र समन्वय खाँचो भएको उनको भनाइ छ।

वीरगन्जका अर्का व्यवसायी तथा वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले पनि उद्योगी तयारी अवस्थामा रहेको बताए।

उनले भने, ‘उद्योग चलाउनुभन्दा पहिला मजदुर तथा कर्मचारीको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।’

कामदारलाई उद्योगभित्रै राख्ने हो भने कसरी व्यवस्थापन गर्ने महत्वपूर्ण कुरा भएको राजपालले बताए।

उनले भनेजस्तै सबै उद्योगको राख्ने कर्मचारी ठाउँ नहुने अवस्थामा कसरी उद्योग चलाउने भन्ने समस्या हुनेछ। घरबाट आउने हो भने त्यो अवस्थामा कसरी आउने जाने मिलाउने भन्ने समस्या पनि छ।

उद्योग बन्द भएपछि धेरै कर्मचारी घर गएका छन्। कतिपय उद्योगका कर्मचारी भारतीय नागरिक भएकाले पनि उनीहरु आउन समस्या हुने देखिन्छ।

धेरै उद्योगमा भने स्थानीय कर्मचारी भएकाले खासै समस्या नहुने वीरगन्जका उद्योगीको भनाइ छ। खाद्यान्न, सिमेन्ट, औषधि, प्याकेजिङ, जस्तापाताजस्ता उद्योगमा वीरगन्जका छेउछाउका गाउँका कर्मचारी छन्। त्यसैले कर्मचारी अभाव नहुने उद्योगी बताउँछन्।

फलामजन्य उद्योगमा भने मजदुर अभाव हुनसक्छ। डन्डी उद्योगहरुमा दक्ष कामदारका रुपमा भारतका धेरै छन्। उनीहरु फर्केर आउन नसक्ने अवस्था छ।

उद्योग चलाउने हो भने सम्पूर्ण कर्मचारीलाई कारखाना कम्पाउन्डभित्रै राख्ने व्यवस्था मिलाउन सक्नुपर्छ।

‘भित्रै राखेर चेकजाँच र सुरक्षा अपनाएर गर्न सकिन्छ’,वीरगन्ज उद्योग वाणिज्य संघ, बाराका पूर्वअध्यक्ष ओम प्रकाश शर्माले भने, ‘उद्योगमा

पनि त्यस किसिमको सुविधा बनाउनुपर्छ।’

यदि कसैलाई इन्फेक्सन भइहालेमा त्यो क्षेत्रबाट बाहिर फैलिन नसक्ने हुनुपर्ने उनको सुझाव छ।

कामदारलाई आफ्नो कम्पाउन्डमा राख्न नसक्ने धेरै उद्योग छन्। ती उद्योगका कर्मचारीलाई घरबाट लैजाने ल्याउने गर्नसके धेरै राम्रो तर त्यसको लागि सुरक्षाको प्रबन्ध हुनैपर्ने शर्माले बताए। घरबाट आउने कर्मचारीलाई गाडीको व्यवस्था मिलाउने र उनीहरुलाई अन्य सुरक्षाका प्रबन्ध मिलाउनुपर्छ।

यस्तो परिस्थितिमा कर्मचारी अभाव हुने भए पनि उपलब्ध भएकाबाटै उद्योग चलाउनुपर्ने उनको सुझाव छ।

उद्योग परिसरभित्रै कर्मचारी राख्ने हो भने कम कर्मचारीमा चलाउन पनि राम्रै हुने उनको भनाइ छ।

‘अहिले पूर्णरुपमा उद्योग चलाउन नसकिने भएकाले कम कर्मचारी भएर पनि सकिन्छ’, शर्माले भने।

सरकारले भनेजस्तै चरणबद्ध रुपमा उद्योग खोल्दा राम्रो हुने सुझाव उनीहरुको छ।

पहिलो चरणका केही उद्योग खोल्ने र ती उद्योग सञ्चालन गर्दाको अनुभवका आधारमा अर्काे चरणका उद्योग चलाउन सकिने व्यवसायीको भनाइ छ।

पहिलो चरणमा अतिआवश्यक खाद्यान्न उद्योगहरु पूर्णरुपमा चलाउनुपर्ने, दोस्रो चरणमा निर्माण सामग्रीका उद्योग चलाउनुपर्ने र तेस्रो चरणमा निर्यातजन्य उद्योग चलाउन सकिने व्यवसायीको भनाइ छ।

वर्षाको समय आउँदै छ। छानाका उद्योगहरु अब चलाउनैपर्ने अवस्था छ। जस्तापाता उद्योग जरुरी भइसकेको छ। खाद्यान्न चलिरहेका छन् तर पूर्ण रुपमा चलेका छैनन्। सरकारले सहयोग गर्ने हो भने ती पनि पूर्णरुपमा चलाउन सकिने शर्माले बताए।

संघीय सरकारले उद्योग चलाउने तयारी गरिरहेको बेला उद्योगीहरु भने प्रदेशदेखि संघीय सरकारसँग असन्तुष्ट छन्।

दुवै सरकारले उद्योग चलाउनको लागि आवश्यक तयारी नगरेको उनीहरुको आरोप छ।

‘वीरगन्ज औद्योगिक हब हो भनेर यहाँको सुरक्षाको लागि सरकारले केही काम गर्नुपथ्र्यो’, शर्माले भने, ‘यहाँ एउटा पीसीआर समेत राखिएको छैन।’

यति ठूलो क्षेत्र र भारतसँग सम्पर्क धेरै भएको ठाउँमा पीसीआर नराखेर केन्द्रीय सरकारले अन्याय गरेको वीरगञ्जका व्यवसायीको गुनासो छ।

सम्भावित जोखिम न्यूनीकरण गर्न कोरोना भाइरस परीक्षण समेत नभएको शर्माले बताए।

अहिले पनि केही उद्योग चलिरहेका छन्। घिउ, तेल, दाल, चामल, औषधिका उद्योगहरु अहिले पनि चलिरहेका छन्। उनीहरुले आफ्ना कर्मचारीलाई उद्योगमै राखेर कारखाना चलाइरहेको शर्माले बताए।

वीरगन्ज मुलुककै ठूलो औद्योगिक क्षेत्र हो। वीरगन्जका गल्लीगल्लीमा उद्योग तथा कलकारखाना छन्। बारा–पर्सा औद्योगिक करिडोरमा साना ठूला गरेर झण्डै हजारको हाराहारीमा उद्योगहरु रहेका छन्।

बारा–पर्सा औद्योगिक करिडोरमा हरेक किसिमका उद्योग छन्। यस क्षेत्रमा निर्माण सामग्री धेरै उत्पादन हुन्छन्। जस्तापाता, डन्डीदेखि किलासम्म उत्पादन हुन्छन्। सिमेन्ट, प्याकेजिङ, औषधि, सबै किसिमका खाद्यान्न सबै उद्योग छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .