कारोबार


निक्की र भक्तपुर उद्योग वाणिज्य संघबीच व्यापार, पारवहन र पर्यटन सहकार्यबारे छलफल

निक्की र भक्तपुर उद्योग वाणिज्य संघबीच व्यापार, पारवहन र पर्यटन सहकार्यबारे छलफल

नेपालखबर
पुस २०, २०८२ आइतबार १८:५, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) बीच व्यापार, पारवहन सहजीकरण तथा पर्यटन प्रवद्र्धनमा सहकार्यका सम्भावनाहरूबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बैठकको साझा उद्देश्य नेपालको आर्थिक वृद्धि र उद्यमशीलता विकासलाई टेवा पुर्‍याउनु रहेको थियो।

निक्की प्रतिनिधिमण्डललाई स्वागत गर्दै बीसीसीआईकी अध्यक्ष रोशनी मैया धौबञ्जाले भक्तपुरको आर्थिक तथा सांस्कृतिक विशेषताहरूको चर्चा गरिन्। उनले भक्तपुरलाई सांस्कृतिक र धार्मिक सम्पदाले सम्पन्न परम्परागत सहरका रूपमा उल्लेख गर्दै पर्यटनमा आधारित विकासको ठूलो सम्भावना रहेको बताइन्। 

“बीसीसीआईले कृषि, हस्तकला र पर्यटन प्रवद्र्धनमा सक्रिय रूपमा काम गरिरहेको छ,” धौबञ्जाले भनिन्, “यी क्षेत्रसँगै हामी परम्परागत नेपाली उत्पादनहरू भदगाउँले टोपी तथा भक्तपुरको प्रसिद्ध दही ‘जुजु धौ’को प्रवद्र्धनमा पनि लागिरहेका छौँ।”

निक्कीका अध्यक्ष सुनील केसीले सहभागीहरूलाई द्विपक्षीय व्यापार सहजीकरणमा निक्कीको भूमिकाबारे जानकारी गराउँदै विशेषगरी निर्यातसम्बन्धी विषयमा दुवै संघबीच नजिकको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

“भारत नेपालका लागि निर्यातको मुख्य प्रवेशद्वार मात्र होइन, नेपाली वस्तु तथा सेवाहरूको सबैभन्दा ठूलो बजार पनि हो,” केसीले भने। “निर्यातमा समस्या परेमा निक्कीसँग परामर्श लिन सक्नुहुन्छ। निरन्तर संवाद र एक–अर्काका प्रयासलाई पूरक बनाउँदै हामी नेपाल प्रवद्र्धन गर्ने साझा लक्ष्यतर्फ सँगै काम गर्न सक्छौँ।”

अन्तर्क्रियाका क्रममा बीसीसीआईका सदस्यहरूले हस्तकला निर्यात तथा भारतबाट विभिन्न वस्तु आयात गर्दा भन्सार प्रक्रिया लगायत व्यापार र पारवहन सहजीकरणमा निक्कीको सहयोगको अपेक्षा व्यक्त गरे। साथै, चाँगुनारायण र डोलेश्वर महादेवजस्ता शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदास्थलसहित भक्तपुरको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न पनि आग्रह गरे।

यी मागहरूप्रति प्रतिक्रिया दिँदै निक्कीका उपाध्यक्ष कुनाल कयालले सहकार्यप्रति निक्कीको प्रतिबद्धता व्यक्त गरे। “बीसीसीआईको क्षमता अभिवृद्धि गर्न तथा भक्तपुरका उत्पादन र पर्यटन सम्भावनाको प्रवद्र्धनमा सहयोग गर्न निक्की हातेमालो गर्न तयार छ,” उनले भने। 

यस्तै, निक्कीका महासचिव राजन शर्माले पनि विशेषगरी व्यापार र पारवहनसम्बन्धी विषयमा तालिममार्फत प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। “व्यापार र पारवहनसम्बन्धी चुनौती समाधान गर्न तालिम र ज्ञान आदान–प्रदानमार्फत बीसीसीआईलाई सहयोग गर्न निक्की प्रतिबद्ध छ,” शर्माले भने। 

बैठकको अन्त्यमा दुवै संघले व्यापार, पारवहन र पर्यटनसम्बन्धी पहलहरूमा नजिकबाट सहकार्य गर्ने सहमति जनाए। सहकार्यलाई नेपालको दिगो आर्थिक वृद्धि र उद्यमशीलता विकासको प्रमुख आधारका रूपमा स्वीकार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad