चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी झण्डै ६ महिनापछि सञ्चालनमा आउने भएको छ। रसुवागढी–केरुङ जोड्ने ल्हेन्दे खोलाको पक्की पुल असार २४ मा बाढीले बगाएपछि ठप्प भएको नाका बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका नाका खोल्नेबारे चिनियाँ पक्षले सूचना दिएको हो।
‘भोलिदेखि औपचारिक रुपमै नाका खोल्ने निर्णय भएको छ’, अधिकारीले नेपालखबरसँग भने, ‘उता स्टक भएका हाम्रा सवारी साधन र खोलाले बगाएका गाडी निकासा गर्न यताबाट सवारी चालक गइसकेका छन्।’
चीन सरकारले ल्हेन्दे खोलामा अस्थायी बेलिब्रिज निर्माण गरेसँगै नाका खुल्न लागेको हो। हाल निर्माण गरिएको बेलिब्रिज साँघुरो र एकतर्फी मात्र सञ्चालन हुनेछ। नाका खुले पनि अहिले नै पहिला जस्तै मालवाहक सवारीसाधन ओहोरदोहोर गर्न सम्भव हुने छैन।
बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहलाई समेत क्षति पुर्याएको थियो। स्याफ्रुबेँसी-रसुवागढी सडकलाई पनि क्षति पुर्याएको थियो।
रसुवागढीदेखि स्याफ्रुबेंसीसम्मको १६ किलोमिटर सडक खण्डमा अझै १३ ठाउँमा बाटो बिग्रिएको छ। पहिरोको जोखिम र साँघुरो बाटोका कारण अझै पनि यातायात सञ्चालन गर्न कठिन छ। चीन सरकारको आर्थिक सहयोगमा उक्त सडकको स्तरोन्नति गर्ने काम भइरहेछ।
अधिकारीका अनुसार बेलिब्रिजले कति भारबहन गर्न सक्छ भन्ने कुराको परीक्षण गरिएको छ। ‘पारि करिब २ सय वटा कन्टेनर छन्। केहीमा सामान छन्, केही खाली छन्। भोलिदेखि नै फर्किन सुरु हुन्छन्’, उनले भने।
नाका खुलेसँगै उताबाट सामान बोकेका मालवाहक सवारी रसुवा भन्सारको यार्डमा आउनेछन्, भन्सार जाँच पास गरेर काठमाडाैँ आउनेछन्। बाढीले बगाएको भोटेकोशी किनारको भन्सार यार्ड सफा गरी करिब २ सय कन्टेनर अट्ने बनाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए।
बाढीअघि रसुवागढीबाट दैनिक करिब एक सय कन्टेनर पारि जाने र त्यति नै संख्यामा सामान लिएर नेपाल भित्रिने गर्थे। ‘भन्सार अब सामान्य रुपमै खुला हुने हो। व्यवसायीले नयाँ एलसी खोल्ने र सामान लोड गरी नेपाल ल्याउने प्रक्रिया थाल्दा हुन्छ’, भट्टराईले नेपालखबरसँग भने। नाका बन्द हुँदा लत्ताकपडा, फलफूल र विद्युतीय सवारी साधन आयात रोकिएको थियो।
Shares

प्रतिक्रिया