कारोबार


शान्तिबिना समृद्धि सम्भव छैन र समृद्धिबिना शान्ति दीगो रहँदैन : अर्याल

क्लाउड सर्भिस र ई–व्यापारले नयाँ व्यवसायिक अवसर खोलेका छन्
शान्तिबिना समृद्धि सम्भव छैन र समृद्धिबिना शान्ति दीगो रहँदैन : अर्याल

नेपालखबर
पुस १६, २०८२ बुधबार १६:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले क्लाउड सर्भिस र ई–व्यापारजस्ता डिजिटल सेवाले नयाँ व्यवसायिक अवसर सिर्जना गरिरहेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

दीगो विकास र तीव्र आर्थिक वृद्धिका लागि नेपालले पर्यटन, कृषि र सूचना प्रविधि सेवाजस्ता उच्च सम्भावनायुक्त क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने अर्यालको भनाइ छ। 

‘डिजिटल अर्थतन्त्र र युवामुखी व्यवसाय, विशेषगरी आईसीटी क्षेत्रअन्तर्गतका क्लाउड सर्भिस र ई-व्यापारले मुलुकको जीडीपीमा निरन्तर योगदान दिन सक्ने नयाँ अवसर सिर्जना गरिरहेका छन्,’ उनले बताए।

उनका अनुसार स्थिर नीतिगत वातावरण, प्रशासनिक प्रक्रिया सरलता, कर तथा व्यापार नियमको सहजता र पारदर्शिता बढेमा निजी लगानीको विश्वास जित्न सकिन्छ। 

साथै घरेलु तथा विदेशी लगानी आकर्षित गर्न भूमि अधिकार, ऊर्जा, आपूर्ति, यातायात, पूर्वाधार र वित्तीय सुधारलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको उनले जोड दिए। भ्रष्टाचारविरुद्ध कडा नीति, कानुनी सुरक्षा र दीगो व्यापार नीति राष्ट्रको साझा जिम्मेवारी भएको पनि उनले उल्लेख गरे।

युवा शक्ति देशको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै अर्यालले उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा युवाको भूमिका निर्णायक हुनुपर्ने बताए। 

जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै उनले प्रारम्भिक मूल्यांकनअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताए। 

‘शान्ति र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका छन्,’ अर्यालले भने, ‘शान्तिबिना समृद्धि सम्भव छैन र समृद्धिबिना शान्ति दीगो रहँदैन भन्ने मर्मलाई निजी क्षेत्रले स्वीकार गरेको छ।’ राजनीतिक स्थायित्वले लगानी, रोजगारी र राष्ट्रिय उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्ने र जनआशा मजबुत बनाउने उनले बताए।

निजी क्षेत्रले कुल रोजगारीको ८५ प्रतिशतभन्दा बढी प्रदान गर्दै आएको र करिब ५५ लाख मानिसलाई रोजगारी दिएको तथ्यांक रहेको उल्लेख गर्दै उनले विशेषगरी साना, सुस्म र मध्यम उद्योगले रोजगारी सिर्जनामा ठूलो योगदान पुर्‍याएको बताए। 

नेपालले बाह्य लगानी सम्मेलन र द्विपक्षीय व्यापार सम्झौतामार्फत दीगो विकास लक्ष्य हासिल गर्न रणनीतिक साझेदारी विस्तार गरिरहेको उल्लेख गर्दै उनले सरकारले युवालाई व्यवसायिक दक्षता र लगानीका माध्यमबाट जीवन्त अवसरहरू उपलब्ध गराउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad