कारोबार


‘नेपालमा च्याउको माग ७२ हजार मेट्रिक टन, उत्पादन १५ हजार मात्रै’

‘नेपालमा च्याउको माग ७२ हजार मेट्रिक टन, उत्पादन १५ हजार मात्रै’

नेपालखबर
पुस १५, २०८२ मंगलबार १७:२४, काठमाडौँ

कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताएका छन्।

प्रथम च्याउ दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले उपभोक्तामा च्याउको माग निरन्तर वृद्धि हुँदै गएकोले च्याउ खेतीको सम्भावना रहेको बताएका हुन्।

न्यून आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उपयुक्त माध्यम भएको उनले बताए। आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक च्याउ उत्पादन गर्नसके यसले रोजगारी सिर्जना समेत गर्नसक्ने उनको भनाई छ।

उनकाअनुसार हाल नेपालमा वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी ताजा च्याउ उत्पादन हुने गरेको छ। तर च्याउको माग भने करिब ७२ हजार मेट्रिक टन रहेको उनले बताए।

च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भएपनि ४७ जिल्लामा मात्रै व्यवसायिक रूपमा उत्पादन भइरहेको उनले जानकारी दिए। 

आर्थिक वर्ष २०८१/८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार २ सय ६२ केजी आयात भएको उनले जानकारी दिए। उनकाअनुसार १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १ सय ९८ केजी च्याउ निर्यात भएको छ।

पछिल्लो समय अन्य प्रजातिका च्याउ पनि निर्यात हुन थालेको उनले बताए। उनले च्याउमा मानव शरीरलाई आवश्यक १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकारका एमिनो एसिड पाइने बताए। 
प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र भिटामिनजस्ता पौष्टिक तत्व पनि च्याउमा पाइने उनको भनाई छ। तर नेपालमा च्याउ खेती अझै विस्तार गर्न नसकिएको उनले बताए। 

रैथाने च्याउ तथा नयाँ प्रजातिको अध्ययन–अनुसन्धान, खेती प्रविधि विकास र दक्ष जनशक्तिको उपलब्धता नेपालमा पर्याप्त हुन नसकेको उनको भनाइ छ। 

उनले भने, ‘न्यून आयस्रोत भएका कृषकहरूलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती मानिन्छ भने आधुनिक उच्च प्रविधि समेत प्रयोग गरी औद्योगिक रुपमा व्यवसायिक उत्पादन गरी रोजगारीको समेत सिर्जना गर्न सकिन्छ। नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकोले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको छ। नेपालको रैथाने च्याउहरुको साथै नयाँ प्रजातीहरुको अध्ययन अनुसन्धान गरि खेती प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता प्रयाप्त हुन सकेको छैन।’ 

उनले हाल राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रबाट च्याउ प्रविधि प्रचार, मूल्य श्रृङ्खला विकास, अनुसन्धान र बीउ उत्पादनको काम हुँदै आएको बताए। उनकाअनुसार गत वर्षदेखि काभ्रेको कोपासीस्थित रेशम विकास केन्द्रमा च्याउको राष्ट्रिय स्रोत केन्द्र विकास गर्ने कार्यक्रम शुरु गरिएको छ।

यसवर्ष च्याउको गुणस्तर नियमन, बीउ उत्पादन परीक्षणलगायत कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण सम्पन्न हुने उनले जानकारी दिए। प्रथम च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिकार महोत्सव गरिएको छ भने उत्कृष्ट च्याउ किसानलाई सम्मान समेत गरिएको छ। गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

हाल नेपालमा गोव्रे, खन्ने, पराले, सिताके, वेस्टन, रातो, दुधे च्याउलगायत विभिन्न जातका च्याउ व्यवसायिक रूपमा उत्पादन हुँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad