कारोबार


भीपीएन प्रयोग गरी युट्युबबाट डलर कमाउनेको बाटो बन्द

भीपीएन प्रयोग गरी युट्युबबाट डलर कमाउनेको बाटो बन्द

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १७:५९, काठमाडौँ

अनलाइन भिडिओ सेयरिङ कम्पनी युट्युबले सन् २०२५ मा कन्टेन्ट क्रिएटरका लागि धेरै नीति फेरबदल गर्‍यो। यी परिवर्तनले नेपाल, भारतसहित दक्षिण एसियाका कन्टेन्ट क्रिएटरलाई असर पार्दै गएको छ। असर गरिरहनेछ। त्यसैले सन् २०२६ मा चनाखो हुनुपर्नेछ।

भर्चुवल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरी धेरै पैसा कमाउनेहरूका लागि गत जुलाई १५ देखि युट्युबले निकै ठूलो परिवर्तन गर्‍यो। यो नीतिको राडरमा नेपाली क्रिएटरहरू पनि परिसकेका छन्। सन् २०२६ मा नेपालसहितका दक्षिण एसियाली देशमा यो नीति अझ कडाइँका साथ लागू हुनेछ।

युट्युबले आफ्नो ‘भीपीएन डिटेक्सन अल्गोरिदम’लाई शक्तिशाली बनाउँदै विज्ञापनदातालाई वास्तविक उपभोक्तासम्म पुर्‍याउन चाहेको बताउने गरेको छ। भीपीएन प्रयोगबाट दर्शकको लोकेसन परिवर्तन भए पनि युट्युबले ‘हाइ रिभुलुसन्स पर मिनेट’को श्रेणीमा भिडिओलाई भुक्तानी गर्दै आएको थियो। नेपालीले काठमाडौँबाट भिडिओ हेरे पनि त्यसलाई न्यूयोर्कबाट हेरेको बनाएर बढी पैसा कमाउने गरेका थिए।

अब ‘फेक इन्टरनेशनल भ्युज’बाट हुने आम्दानी पूर्णत बन्द भएको छ। युट्युबको एआईले भिडिओ हेर्ने दर्शकको भूगोल पहिचान गर्छ।

यदि कुनै भिअरले भीपीएन प्रयोग गरी भिडिओ हेरिरहेको छ भने युट्युबले ती दर्शकलाई विज्ञापन नै देखाउँदैन। विज्ञापन नदेखिँदा दर्शकले भिडिओ हेरे पनि क्रिएटरले एक पैसा पनि पाउँदैन।

यो परिवर्तनको अर्थ अर्को दृष्टिबाट झन महत्त्वपूर्ण छ। भिअरसीप नीति उल्लंघन गरे विज्ञापन नै बन्द हुन्छ। पटक-पटक भीपीएनमार्फत् ट्राफिक म्यानुपुलेट गर्ने च्यानललाई युट्युबले ‘इन्भ्यालिड क्लिक एक्टिभिटी’ श्रेणीमा राख्नेछ। यो श्रेणीमा परेको च्यानलको ‘एडसेन्स’ सधैँका लागि बन्द हुनेछ।

युट्युबले आफ्ना विज्ञापनदाताको विज्ञापन सही भूगोलमा पुर्‍याउन यो नीति लिएको जनाएको छ। यसअघि भिडिओका दर्शकहरू कहाँका हुन् भनेर युट्युब एनालाइटिक्सले कतिपय फेक लोकेसनका डेटा पनि देखाउने गर्थ्यो। नयाँ एआईले फेक ट्राफिक तत्कालै पहिचान गर्ने क्षमता राख्ने युट्युबको दाबी छ।

अनलाइन भिडिओ सेयरिङ कम्पनीले भर्खरै मात्र फाइनान्सतर्फ पनि महत्त्वपूर्ण निर्णय लिएको छ। यो परिवर्तनले नेपाली क्रिएटरका लागि भुक्तानी प्रक्रिया सहज हुने अपेक्षा छ। भुक्तानी पाउनका लागि तिर्नुपर्ने सेवा शुल्क पनि घट्ने युट्युबको दाबी छ। यसको खास परीक्षण सन् २०२६ मा हुनेछ।

समग्रमा हेर्दा सन् २०२५ मा युट्युबले कन्टेन्ट क्रिएटर लक्षित गरी चार वटा नीति परिवर्तन गरेको थियो। जुलाईमा भीपीएन ट्राफिकबाट पैसा नआउने र एआई स्लोप च्यानल बन्द गर्ने नीति कार्यान्वयन गरेको युट्युबले डिसेम्बर १२ मा नेपालमा तत्काल कम शुल्कमा पैसा आउने निर्णय गरेको थियो। युट्युबले त्यसअघि मार्च १५ मा 'ब्रेकिङ न्यूज'मा विज्ञापन आउन ढिलो हुने नीति लिएको थियो।

२१ अक्टोबर  २०२५ मा डिपफेक प्रयोग गरी कसैको अनुहार वा आवाज चोरी भए तत्कालै थाहा पाउने प्रविधि कार्यान्वयनमा ल्याएको थियो। वर्ष २०२६ मा युट्युबले कस्ता नीति लनेछ? अनुमान गर्न गाह्रो भए पनि उसका निर्णयहरू हेर्दा 'ओरिजिनल कन्टेन्ट क्रिएटर'लाई प्रोत्साहन गर्ने अपेक्षा गर्न सकिन्छ।

यी सामग्री पनि पढ्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad