कारोबार


कार्की ब्यांक्वेटका दिलबहादुर, जसले २८ सय एमालेजनलाई सस्तोमा ‘फाइभस्टारभन्दा राम्रो’ खाना पस्किए

‘छोरा–छोरीको विवाह भोजमा जस्तो राजनीतिक दलले खानामा धेरै पैसा खर्च गर्न सक्दैनन्’
कार्की ब्यांक्वेटका दिलबहादुर, जसले २८ सय एमालेजनलाई सस्तोमा ‘फाइभस्टारभन्दा राम्रो’ खाना पस्किए

कार्की ब्यांक्वेटका सञ्चालक दिलबहादुर कार्की (तस्बिर : विशाल कार्की)


निर्दोष घोरसाइने
पुस १३, २०८२ आइतबार ७:२८, काठमाडौँ

नेकपा एमालेले पुस पहिलो हप्ता ११औँ महाधिवेशन काठमाडौंमा भव्यता साथ सम्पन्न ग¥यो। यसबाटै केपी शर्मा ओलीले अध्यक्षमा ह्याट्रिक गरे। पार्टीको सर्वेसर्वामा आफूलाई पुनः प्रमाणित गरेपछि उनले गरेको भाषणले अझै पनि ध्यान खिचिरहेको छ।

‘विरोधीहरुले केही नपाएर फाइभ स्टार होटलको स्ट्यान्डर्ड खाना खाए भनेर विरोध गरेका छन्’, खानाबारे सामाजिक सञ्जालहरुमा कुरा उठाइएपछि ओलीले केही दिनअघि भनेका थिए, ‘नेकपा एमालेका संगठित सदस्य मात्र सात लाख छन्। समर्थक र शुभेच्छुकको संख्या, दसौँ, पन्ध्रौँ, बीसौँ लाख छ। त्यस्तो पार्टीले महाधिवेशनमा भोकै बस्नु परेन, भात खायो। मिठो दाल खायो। रायोको कलकलाउँदो साग खायो। मुडेको आलु खायो। मुस्ताङको आलु खायो।’

खानाको उच्च प्रशंसामा उनले थपे– ‘फाइभस्टारभन्दा राम्रो।’

महाधिवेशनमा एमालेले कार्यकर्तालाई खानै नदिएर धुरुक्क पार्न नल्याएको भन्दै ओलीले आफ्नो पार्टीले यति बन्दोबस्ती मज्जाले गर्न सक्ने उल्लेख गरे।

अध्यक्षले खानाका लागि गरेको प्रशंसामा सहमत छन् एमाले महाधिवेशन प्रतिनिधि बनेका नेता–कार्यकर्ता। महाधिवेशनमा खाना खाएका एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य आरसी लामिछानेका अनुसार खाना र व्यवस्थापनको तारतम्य उच्च कोटिको थियो। 

‘महाधिवेशनमा उपलब्ध गराइएको खानाबाट सन्तुष्ट छौँ। खानाको गुणस्तर र सेवामा कुनै कमी थिएन’, लामिछानेले नेपालखबरसँग भने, ‘लामो लाइन बस्नु परेन र खाना पनि समयमै उपलब्ध गराइएको थियो।’

उत्कृष्ट व्यवस्थापनमा सदावहार नाम– कार्की ब्यांक्वेट
एमाले महाधिवेशनमा खानाको जिम्मा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटले पाएको थियो। यसका सञ्चालक दिलबहादुर (डीबी) कार्की ब्यांक्वेटको प्रमुख विशेषता भनेकै किफायती मूल्यमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्नु रहेको बताउँछन्। 

महाधिवेशनमा खाना खुवाउन इच्छुक १७/१८ वटा क्याटरिङमध्ये उत्कृष्ट सेवा र खानाको गुणस्तरमा सम्झौता गर्दैन भन्ने विश्वासका कारण कार्की ब्यांक्वेटले उक्त कार्यक्रमको जिम्मा पाएको उनको भनाइ छ। 

कार्की ब्यांक्वेट राजनीतिक दल, उच्चपदस्थ व्यक्ति, सेना, प्रहरी, कूटनीतिक नियोग, सर्वसाधारण सबै बीच खानाको मामिलामा कुशल व्यवस्थापकका रुपमा चर्चित छ। त्यसैले ठूला कार्यक्रम आयोजना गर्दा धेरैको रोजाइमा पर्ने पहिलो नाम बन्दै आएको छ। 

यस पटकको महाधिवेशनमा खानाको व्यवस्थापन गर्ने जिम्मेवारी कार्की ब्यांक्वेटले पाउनु कुनै संयोग भने हैन। यसअघि पनि एमालेको धेरै कार्यक्रममा आफ्नो पाक दक्षता यसले प्रस्तुत गरिसकेको छ। 

गत भदौमा गोदावरीमा भएको एमालेको विधान महाधिवेशनमा पनि खाना खुवाउने जिम्मेवारी कार्की ब्यांक्वेटले नै लिएको थियो। यस पटक भृकुटीमण्डपमा महाधिवेशनमा सहभागी हुन आएका २२ सय ६३ प्रतिनिधि र स्वयंसेवक गरी करिब २८ सय जनालाई ४ दिन कार्की ब्यांक्वेटले नै बिहानको खाजा र खाना प्रबन्ध गरेको थियो। 

कार्की ब्यांक्वेटले मंसिर २८, २९ गते र पुस १, २ गते गरी चार दिन महाधिवेशनमा खानामा उपलब्ध गराएको थियो। यसअघि २०८० मा भूपू सैनिकको कार्यक्रममा ५५ सय जनालाई टुँडिखेलामा खाना खुवाएको अनुभवले गर्दा २८ सय जनालाई खाना खुवाउन समस्या नहुने कार्कीको बुझाइ थियो। 

तर भृकुटीमण्डपको सानो हलमा ठूलो संख्यामा एकै पटक खानाको व्यवस्थापन राम्रोसँग गर्न सकिन्छ कि सकिँदैन भन्ने उनलाई चिन्ता थियो। व्यवस्थापन टिमको चुस्तदुरुस्त व्यवस्थापनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा उनी सन्तुष्ट छन्।

डीबी कार्कीका अनुसार कार्की ब्यांक्वेटले २७ गते दिउँसो मात्र कार्यक्रम स्थलको जिम्मेवारी पाएको थियो। 

‘हलको जिम्मा पाएको छोटो समयमा आवश्यक सेटअपहरु मिलाउनुपर्ने थियो। भृकुटीमण्डपको हलको अवस्था सबैलाई थाहा छ। एक दिनमा सेटअप मिलाएर भोलिपल्ट बिहान खाना खुवाउनुपर्ने थियो’, कार्कीले भने, ‘हल सरसफाइ गरेर हाइजेनिक खाना खुवाउन किचन सेटअप गर्नुपर्ने थियो। समयको पाबन्दीका बाबजुद पहिलो दिनदेखि नै राम्रो सेवा दिन सफल भयौँ।’ 

१३६ कर्मचारी खटिए, चियादेखि खानासम्म पस्किए 
मुलुककै ठूला राजनीतिक दलको महाधिवेशन व्यवस्थापन गर्न आवश्यक पर्ने पर्याप्त जनशक्ति कार्की ब्यांक्वेटसँग मात्र हैन फाइभ स्टार होटलसँग पनि उपलब्ध हुँदैन। 

यस्ता कार्यक्रमहरु स्थायी कर्मचारी र क्याजुअल (भाडा) कर्मचारीको संयोजनमा गरिन्छ। कार्की ब्यांक्वेटले पनि सोहीअनुसार कार्य गरेको सञ्चालक कार्की बताउँछन्। 

एमालेको महाधिवेशनका लागि स्थायी कर्मचारीको रेखदेखमा क्याजुअलबाट काम लिइएको थियो। महाधिवेशनमा कार्की ब्यांक्वेटले १३६ जना कर्मचारी परिचालन गरेको थियो। जसमा स्थायी कर्मचारी २८ र क्याजुअल १०८ जना थिए। 

‘बिहान ७ बजेदेखि नै चिया–कफीको व्यवस्थापन गर्नुपर्ने थियो। एक सिफ्टमा काम लिँदा कर्मचारीहरु थकित हुन सक्थे’, कार्कीले थपे, ‘यसका लागि दुई सिफ्टमा काम गरिएको थियो।’

नास्ता, खानाका लागि बिहान ४ बजेटदेखि नै तयारीमा जुटेको उनको भनाइ छ।

चिसो मौसम भएकाले चियासँगै तातो पानीको पनि व्यवस्था मिलाइएको थियो। खाना र नास्ताका लागि ब्यांक्वेटले १६, १७ स्थानमा स्टल राखेर दुई तर्फीबाट लिन मिल्ने व्यवस्था गरेको थियो। जसबाट एकै पटकमा २८ सय जनालाई सेवा दिन समस्या नभएको उनी बताउँछन्। 

यस्तै कुनै स्टलमा खाने कुरा तथा सेवामा कुनै कमजोरी देखिएमा तत्काल सम्बोधन गर्न हलभित्र सीसी क्यामरा राखिएको थियो। सीसी क्यामराबाट निगरानी गरेर अभाव भएका वस्तु र सेवाकर्मी तत्काल खटाउने कार्य गरिएको थियो। यसले गर्दा पनि महाधिवेशनमा सहभागीहरुले खाना खाने क्रममा कुनै गुनासो गर्नु परेन। 

महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केपी ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रेका थिए।

‘चुनावी प्रक्रिया भएकाले उमेदवारहरुमा तनाव हुन्छ। खानामा कुनै त्रुटि भएमा राजनीतिक तनावको भँडास त्यहीँ पोखिन सक्थ्यो। त्यसैले खाना खानेका लागि स्वच्छ, छिटो, छरितो सेवा हुनु अनिवार्य थियो। यसमा हामी सफल भयौँ। अध्यक्ष ओलीले पनि यसैको तारिफ गर्नुभएको हो’, कार्कीले भने।

होटल, रेष्टुरेन्ट, क्याटरिङ लगायत सबैले मेन्युका आधारमा खाना पस्किने हो। कार्की ब्यांक्वेटले पनि दाल, भात, मासु, तरकारी, अचार उपलब्ध गराएको थियो। 

‘कार्की ब्यांक्वेटले खानामा कुनै कन्चुस्याई गर्दैन। साथै सेवा पनि उत्कृष्ट दिन्छ। हामीले खर्च कटौतीका नाममा आवश्यकभन्दा कम कर्मचारी परिचालन गरेको भए खाना पस्कन लामो लाइन लाग्ने थियो। लामो लाइन बस्नु नपर्दा आफै सेवा स्तरीय बन्छ। हामीले व्यवस्थित रुपमा सेवा प्रदान गरेको हो’, कार्कीले भने। 

अहिले त्यसैको तारिफ भइरहेको उनी बताउँछन्। विगतमा पनि उच्च छवि बनाउन सफल कार्की ब्यांक्वेटलाई यस कार्यक्रमले थप उचाइमा पुर्याउन मद्दत पुग्नेमा आशावादी देखिन्छन्। 

राजपरिवारदेखि सामान्यजनलाई स्वाद चखाएका कार्की  
कार्की ब्यांक्वेटका सञ्चालक डीबी कार्की वि.सं. २०२७ सालमा भोजपुरमा जन्मिएका हुन्। आफ्नो श्रम र पौरखले यहाँसम्म आइपुगेका उनी आफूलाई ‘भुइँबाट उठेको व्यक्ति’ मान्छन्। 

कर्मक्षेत्रमा निरन्तर लागिपर्ने स्वभाव भएकैले उनले अहिले आतिथ्य क्षेत्रमा नाम र दाम कमाएका छन्। यसले उनको नम्र स्वभावमा कुनै परिवर्तन ल्याएको छैन। 

लोभको भावना नराख्ने कार्की आफ्नोमा सेवा लिन आउनेलाई आर्थिक क्षमताअनुसारको सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता राख्छन्। त्यही मान्यतालाई हालसम्म डगमगाउन नदिएको उनी बताउँछन्। 

कार्कीको हातको स्वाद राजपरिवार, सम्भ्रान्त वर्ग र न्यून आयस्तर भएका सबैले चाखेका छन्। आमाको आशीर्वाद र आफ्नो लगावका कारण आफ्नो सेवाबाट सबैलाई सन्तुष्ट पार्न सकेको उनको भनाइ छ। 

‘सबै मानिससँग लाखौँ खर्च गरेर कार्यक्रम गर्ने क्षमता हुँदैन। उहाँहरु पनि कार्की ब्यांक्वेट सम्झेर सेवा लिन चाहनुहुन्छ भने हामी नाइँ भन्दैनौँ’, उनले भने, ‘दक्षताअनुसार आवश्यक सामानको जोहो गर्न लगाएर आइटमका आधारमा निश्चित शुल्क लिएर सेवा दिन्छौँ।’

खानाको खर्च करिब १ करोड ३० लाख अनुमान
एमाले महाधिवेशनमा झण्डै २८ सय जनालाई किफायती मूल्यमा खाना खुवाएको कार्की बताउँछन्। 

‘खानाको रेट एकदमै सस्तो थियो। किनमेल अर्डर गरेजस्तो थियो’, कार्कीले भने, ‘कार्यकर्ताले बुझाएको लेभीबाट राजनीतिक दलले कार्यक्रम गर्नुपर्ने हुन्छ। छोराको विवाहजस्तो धेरै पैसा खर्च गरेर राजनीतिक दलले कार्यक्रम गर्न सक्दैनन्। पार्टीले पनि किनमेल लागतमा खुवाउन अनुरोध गरेको थियो। नाफाघाटा हेरिएको छैन।’ 

यस्ता कार्यक्रममा निर्वाह गरेको भूमिकाका कारण पनि अन्य कार्यक्रमहरुमा कार्की ब्यांक्वेटले प्राथमिकता पाउने गरेको छ। 

महाधिवेशनमा खर्चको अनुमान कसरी गर्नुभएको छ भन्ने प्रश्नमा उनी अहिलेसम्म हिसाब ननिकालिको दाबी गर्छन्। उनका अनुसार खर्चको बिल जम्मा गरेर हिसाब निकाल्ने कार्य भइरहेको छ। घाटा नपर्ने गरी बिल भुक्तानी हुनेमा उनी आशावादी छन्।  

‘हामीले खाना र खाजाको रेट पनि पठाएका थियौँ। पार्टीले यो रेटमा आर्थिक रुपमा सम्भव नहुने बतायो। पार्टीलाई सहयोग पनि हुन्छ भनेर  घाटा नपर्ने गरी बिल भुक्तानी दिने सहमति बन्यो’, खाना खर्चमा एमालेसँग भएको सहमतिबारे उनले भने। 

राजनीतिक पार्टीको महाधिवेशनमा खानाको चाँजोपाँजो मिलाउन पाउनुलाई आफ्नो ब्यांक्वेटले अवसर ठानेको कार्कीको भनाइ छ। 

‘यसले भोलिका दिनमा यस्तै ठूला कार्यक्रम आयोजना गर्नेको रोजाइमा परिन्छ। नाफा घाटाभन्दा ठूलो संख्यामा कसले खुवायो भन्ने हो। सक्षम सेवा प्रदान गरिरहेको छ भन्ने हो’, कार्कीले भने। 

एमालेका एक नेताका अनुसार कार्की ब्यांक्वेटले यस पटक पनि करिब एक हजार प्रतिप्लेट दरमा खानाको व्यवस्था गरेको थियो। 

‘भदौमा भएको एमालेको विधान महाधिवेशनमा पनि कार्की ब्यांक्वेटले नै जिम्मा पाएको थियो। उक्त समय प्रतिप्लेट एक हजार रेट थियो’, एमालेका ती नेताले नेपालखबरसँग भने, ‘यो पटक पनि सो रेट नबढ्ने गरी खानाको व्यवस्था गरिएको हो।’ 

यसरी हेर्दा एमालेले आफ्ना २८ सय कार्यकर्तालाई खानाका लागि करिब १ करोड ३० लाख रुपैयाँ खर्च गरेको अनुमान छ। 

‘बिहानको ब्रेकफास्ट र दिउँसो मात्र खाना खुवाउने कुरा भएको थियो। १ गतेचाहिँ राति मतदान हुने भएकाले साँझ सादा खाना खुवाउने अनुरोध थियो’, डीबी कार्कीले भने, ‘त्यो दिनचाहिँ २२ सय प्रतिनिधिलाई साँझको खाना पनि खुवायौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad