मुलुकमा लकडाउन सुरु भएसँगै आर्थिक कारोबार हुने सबै क्षेत्र एक्कासी अस्तव्यस्त भए। बाहिरी गतिविधि बन्द भए भने व्यवसाय ठप्प।
आममानिस अन्य काम गर्ने भन्दा पनि घरभित्रै बसेर सकेसम्म सुरक्षित रहने ध्याउन्नमा रहे।
यसको प्रभावमा अनलाइन व्यवसाय पनि पर्यो। अन्य व्यवसाय शून्य हुँदा अनलाइन व्यवसाय पनि ओरालो लाग्दै गएको थियो। लकडाउन सुरु भएसँगै अनलाईन पेमेन्ट (भुक्तानी) र अन्य अनलाइन व्यवसायमा उल्लेख्य कमी आयो।
लकडाउन सुरु भएको केही समयसम्म त ‘अनलाइन पेमेन्ट’को कारोबार ७५ प्रतिशतसम्मले घटेको सम्बन्धित व्यवसायी बताउँछन्।
खल्ती पेमेन्टका निर्देशक अमित अग्रवालले लकडाउन सुरु भएपछि केही दिनसम्म कारोबार स्वाट्टै घटेको बताए।
अमित अग्रवाल
‘समग्रमा हेर्दा लकडाउन सुरु भएपछि कारोबार ३० देखि ३५ प्रतिशतसम्म झरेको थियो,’ नेपालखबरसँग कुरा गर्दै अग्रवालले भने, ‘यसको मतलब अनलाइन पेमेन्ट ७० प्रतिशतले घटेको थियो।’
अन्य व्यावसायिक क्षेत्र ठप्प हुँदा अनलाइन व्यवसाय घट्नु पनि स्वभाविकै थियो। अनलाइनमा धेरै कारोबार हुने हवाइ टिकट, फिल्म टिकट, बस र अन्य इ–कमर्सका काम पूर्णरुपमा बन्द भए।
बिदाको बेलामा अनलाईन कारोबार त्यसै पनि कम हुने अग्रवाल बताउँछन्। जस्तो कि सामान्य अवस्थामा पनि शनिबारको दिन समग्र व्यवसायमा ४० प्रतिशतले कमी आउँथ्यो।
‘हाम्रो अनुभव हेर्नुहुन्छ भने लकडाउन हुने बित्तिकै कारोबार ३० प्रतिशतमा झर्यो,’ अग्रवालले भने, ‘रोचक कस्तो भयो भने मान्छेले बिजुली बिल पनि तिर्न छोडे।’
उनको अनुसार बिजुलीको बिल तिर्नेहरु पनि २० प्रतिशतभन्दा तल झरेका थिए। यसमा सरकारले केही छुट दिन सक्छ कि भनेर उपभोक्ताले पनि सोचेको हुनसक्छ। साथै, ‘मिटर रिडिङ’ गर्ने कर्मचारी घर पुग्न नसकेको कारणले पनि बजुलीको बिल तिर्न नसकेको हुनसक्छ।
अनलाइन पेमेन्ट घटिरहेको बेलामा लकडाउन दोस्रो पटक थपिएपछि भने व्यवसाय विस्तारै उकालो लाग्यो। अनलाइन कारोबारमा नयाँ ग्राहक पनि थपिएका छन्। कतिसम्म भने अनलाइनमा अभ्यस्त नभएकाहरु पनि जर्बजस्ती यसमा आएको प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाको भनाइ छ।
अनलाइनमा पहुँच हुदा पनि र बैकमा पैसा भएर पनि सबैले अनलाइन कारोबार गर्न नसकेको उनको भनाइ छ।
कुसुम लामा
‘अनलाइन कारोबार गर्छु भनेर मात्र हुदैन,’ लामाले भनिन्, ‘प्रोडक्टहरु पनि अनलाईन चाहियो।’
कतिपय डिपार्टमेन्ट स्टोरहरुले आफ्नो अनलाइन गेटवे नभएपछि अन्यसँग मिलेर पनि लकडाउनको अवधिमा कारोबार गरिरहेका छन्। जस्तो कि काठमाडौंका विभिन्न ठाउँमा आफ्ना स्टोर राखेको बिगमार्टले दराजसँग सहकार्य गरेको छ।
यस्तो ठूला डिमार्टमेन्टलाई यस लकडाउनले अनलाइन सपिङमा पनि जानु बाध्य बनाएको छ।
अनलाईन कारोबार हुनलाई ‘चेन’ चाहिन्छ। किन्न चाहेको सामान अनलाइनमा भेटिनु पर्छ। बैंकहरु अनलाईन गएको हुनुपर्छ र ग्राहकहरुको अनलाईनमा पहुँच हुनुपर्छ। यी कुरा व्यवस्थित नुहदा पनि लकडाउनको अवधिमा अनलाईन पेमेन्टमा धेरै उपभोक्ताको बानी परेको लामाको भनाइ छ।
‘अन्य व्यवसाय शून्य हुदा पनि अनलाइन पेमेन्ट भइरहनु र लकडाउनकै अवधिमा पुरानै अवस्थामा पुग्नु भनेको पहिलाभन्दा बढ्नु हो,’ अग्रवालले भने, ‘ग्राहक थपिनेक्रम पहिलेभन्दा तीव्र छ।’
अग्रवालका अनुसार लकडाउन सुरु भएको केही समयपछि तीन पक्षको पेमेन्ट बढ्यो। पहिलो हो, इन्टरनेट शुल्क।
लकडाउन सुरु भएको केही दिनसम्म इन्टरनेट सेवा प्रदायकले शुल्क तिर्ने समयावधि बढाएका थिए। तर पछि उनीहरुले पनि शुल्क भुक्तानी नगर्नेको लाइन काट्न थाले। त्यसपछि इन्टरनेटको भुक्तानी बढेको हुनसक्छ।
दोस्रो, टिभीको शुल्क। यसमा पनि इन्टरनेट जस्तै पछि बिल भुक्तानी गर्न थाले।
तस्रो हो, मोबाइल टपअप (पैसा थप्ने)। सुरुमा मोबाइल टपअप खासै थिएन। घरमा रहेको वाइफाइ चलाइरहेको ग्राहकले पछि मोबाइल टपअप पनि बढाएको हुनसक्छ।
यी तीन पक्षको पेमेन्ट भइरहेको बेला अहिले इन्सुरेन्सको भुक्तानी पनि हुन थालेको अग्रवालले बताए।
‘हवाइ, यातायात, फिल्म नचलेको र धेरै कम मात्र बिजुलीको बिल तिरिरहेको बेलामा पनि पहिला कै अवस्थामा कारोबार पुग्न थालेको छ,’ अग्रवालले भने, ‘यस हिसाबले हेर्दा भुक्तानीको कारोबार बढेको मान्नु पर्छ।’
पेमेन्ट यसैगरी बढ्दै जाने हो भने केही दिनमा लकडाउनभन्दा पहिलाकै अवस्थामा व्यवसाय पुग्न सक्ने अग्रवालको आँकलन छ।
पवन प्रधान
सेलपेका सञ्चालक प्रमुख कार्यकारी निर्देशक (सिइओ) पवन प्रधानले पनि लकडाउनको अवधिमा ग्राहकको संख्यामा बृद्धि भएको बताए। सेलपेबाट कारोबार गर्नेहरु बढेको र स्मार्ट डोकोबाट सामान किन्नेहरु बढेको उनले बताए।
अनलाइन व्यवसाय अन्य अवस्थामा जस्तो राम्रो नभए पनि अती आवश्यक सामग्रीको व्यवसाय राम्रो भएको छ। दरबार मार्टका म्यानेजर सन्जय कार्कीले खाद्यान्न र किचनका सामग्रीको व्यापार राम्रो भएको बताए।
‘लकडाउनको समयमा अन्य सामानको माग छैन,’ कार्कीले भने, ‘अती आवश्यक वस्तु, खाद्यान्न, किचनवयरको माग धेरै छ।’ लकडाउन लामो समय भएकाले केही विद्युतीय वस्तुहरु किबोर्ड, चार्जर, दारी फाल्ने मेसिन जस्ता सामानको माग पनि बढेको कार्कीले बताए।
सन्जय कार्की
जबसम्म सम्पुर्ण व्यवसाय आफ्नो लयमा फर्किदैन्, तबसम्म अनलाइन व्यवसायमा पनि असर गरिरहने व्यवसायीको भनाइ छ।
कतिपय पसल र साना व्यवसायले पनि अनलाइनबाट कारोबार गर्ने भएकाले उक्त व्यवसाय लयमा फर्केपछि अनलाइन व्यवसाय तीव्र रुपमा बढ्न सक्ने सम्बन्धित व्यवसायीको भनाइ छ।
पछिल्ला दिनमा विभिन्न स्कुल र कलेजहरुले अनलाइन कक्षा संचालन गरिरहेका छन्। अनलाईन मिटिङ र कन्फरेन्स भइरहेका छन्। यि गतिविधीले पनि अनलाइन व्यवसाय र अनलाइन पेमेन्टलाइै भविष्यमा सघाउने व्यवसायीको भनाइ छ।

प्रतिक्रिया