कारोबार


इटहरीमा कोसीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र बन्ने

इटहरीमा कोसीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र बन्ने

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १६:१०, काठमाडौँ

इटहरीमा कोसी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। 

चार हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो।

एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा परियोजनाको वित्तीय समापन भएको हो। एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजना पूर्वी नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

इटहरीको भाटभटेनी नजिक निर्माण हुने सम्मेलन केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यवसायिक कार्यक्रम तथा गन्तव्य विवाह आयोजना गर्न सकिनेछ। परियोजनाले इटहरी, कोशी प्रदेश तथा भारतलगायत छिमेकी मुलुकका आयोजकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बस्नेतका अनुसार यो परियोजनाले पूर्वी नेपाललाई पर्यटन र व्यवसायिक गतिविधिको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ। परियोजना सञ्चालनमा आएपछि हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय, कृषि, सेवा र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ।

परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले सम्मेलन केन्द्र पूर्वी नेपालको दीर्घकालीन आवश्यकता रहेको उल्लेख गर्दै यसले नेपाल, भारत, भुटान र बंगलादेशलाई जोड्ने पर्यटन तथा व्यवसायिक केन्द्रका रूपमा पूर्वी नेपालको पहिचान बलियो बनाउने बताए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad