द ग्रिन क्लाइमेट फन्ड जीसीएफ/फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन अफ यूएन(एफएओ)ले नेपाललाई साढे ४ अर्ब रुपैयाँ वित्तीय अनुदान सहायता दिने भएको छ।
नेपालको चुरिया क्षेत्रलाई हरियाली प्रवद्र्धन गर्ने परियोजना (बीआरसीआरएन) कार्यान्वयन गर्न ३ करोड ९३ लाख अमेरिकी डलर (४ अर्ब ६८ करोड रुपैयाँ) अनुदान दिन लागिएको हो।
यससम्बन्धी सम्झौता भएको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको तर्फबाट तथा जीसीएफ/एफएओको तर्फबाट नेपाल, भुटान प्रतिनिधि समेत रहेका सोमसाक पिपोपिन्योले हस्ताक्षर गरेका हुन्।
उक्त रकम नेपाल सरकारको बजेटरी प्रणालीबाट खर्च हुनेछ। उक्त परियोजनाले एकीकृत दिगो प्राकृतिक स्रोत व्यवस्थापनको माध्यमबाट चुरिया क्षेत्रको वातावरणीय प्रणाली बढाउने लक्ष्य राखिएको छ।
परियोजनाले प्रदेश १ र २ तथा वाग्मतीका २६ वटा नदी प्रणालीलाई कभर गर्ने र २ लाख ६ सय ८१ वटा परिवारलाई फाइदा पुग्ने बताइएको छ। साथसाथै त्यस क्षेत्रमा वातावरण संवद्र्धनबारे जनचेतना जोगाउने, स्थानीय स्तरमै वातावरणीय प्रवद्र्धन गर्ने क्षमता बढाउनेलगायतका कामहरु पनि परियोजनाले सघाउनेछ।
परियोजनाको अवधि साढे ६ वर्ष रहेको छ। वन तथा वातावरण मन्त्रालयले यसको कार्यानवयन गर्नेछ। बजेटरी प्रणालीबाट जीसीएफ फन्डको रकम खर्च गरेको नेपालले पहिलोपटक हो।

प्रतिक्रिया