कारोबार


कोरोना कहरः पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा आत्मनिर्भर हुने अवसर

कोरोना कहरः पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव, कृषिमा आत्मनिर्भर हुने अवसर

रमेश लम्साल
बैशाख २१, २०७७ आइतबार ११:०,

कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ। कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ। लकडाउनका कारण होटल व्यवसाय, पर्यटन तथा त्यसका सहायक क्षेत्रमा ठूलो प्रभाव परेको छ। कूल २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु भएको नेपाल भ्रमण वर्षसमेत स्थगन भएको छ।

नेपाल पर्यटन बोर्डले तत्काल नै रु २० अर्ब बराबरको राहत प्याकेज जरुरी रहेको स्पष्ट पारिसकेको छ। राष्ट्रिय तथ्यांक विभागले गत बुधबार सार्वजनिक गरेको तथ्यांकमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा १६ दशमलव ३० प्रतिशतले ऋणात्मक हुने देखाएको छ। यस्तै वायु सेवा प्रदायकसमेत मारमा परेका छन्। पर्यटन क्षेत्रमा प्रत्यक्षरूपमा पाँच लाख र अप्रत्यक्ष गरी १५ लाख नागरिक सहभागी छन्। विपद्ले उनीहरुको रोजगारी खोसिएको छ।

कोरोना महामारीका कारण विश्वव्यापी तथा आन्तरिक पर्यटकको आवतजावतमा आएको अवरोधले मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा पर्यटकको आवागमनमा समेत १३ दशमलव ८२ प्रतिशतले कमी आएको छ। कुल गार्हस्थ्य उत्पादनमा चालु आवमा यस क्षेत्रले १ दशमलव ४२ प्रतिशत योगदान दिएको थियो।

कोरोनाका कारण ठूलो प्रभाव परेको पर्यटन, होटल तथा रेष्टुरेन्ट क्षेत्रको पुनःउत्थानका लागि ठोस कार्यक्रम ल्याउनु जरुरी देखिएको राष्ट्रिय योजना आयोगको बुझाइ छ। रासससँग कुरा गर्दै आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आगामी आवको बजेटमा सो क्षेत्रलाई केही न केहीरुपमा सम्बोधन गरिने विश्वास व्यक्त गरे।

‘दुई तीन वर्ष नै असर पर्न सक्ने क्षेत्र भनेको होटल पर्यटन क्षेत्र नै हो। त्यसपछि ट्राभल र यातायात क्षेत्र हो। निर्माण क्षेत्रमा पनि प्रभाव त पर्छ तर काम शुरु गरिहाल्न सकिए कम प्रभाव पर्न सक्छ भन्ने हाम्रो अनुमान छ।’ यस्तै शिक्षा क्षेत्रमा समेत कोरोनाको असर परेको छ। विद्यालय तथा कलेज कसरी सञ्चालन गर्ने र विद्यार्थीमा परेको मानसिक तथा सामाजिक प्रभावलाई कसरी न्यून गर्ने भन्नेतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा कँडेलको भनाइ छ।

कृषिमा आत्मनिर्भर बन्ने अवसर
कोरोनाका कारण अन्य क्षेत्रमा ठूलो प्रभाव परे पनि कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिने अवस्था पनि सिर्जना हुने उनको भनाइ छ। वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि उद्यममा जोड्न सकिने अवस्था आएको भन्दै उनले संकटले नकारात्मक मात्रै नभई सकारात्मक प्रभाव पनि निम्त्याउने बताए।

विशेषगरी खाडी क्षेत्र, मलेसियालगायत देशमा रोजगारीमा गएका युवा कोरोनाको प्रभाव कम हुँदै गएपछि देशभित्र फर्कने वातावरण बन्न सक्छ। ती युवालाई व्यावसायिक कृषितर्फ आकर्षित गर्नेखालका कार्यक्रमको अपेक्षा जनताबाट भएको छ। उपाध्यक्ष प्रा डा कँडेलले भने, ‘हामी आत्मनिर्भर पनि बन्ने र युवालाई देशभित्रै रोजगारी पनि दिन सक्ने क्षेत्रलाई आगामी बजेटले विशेष प्राथमिकतामा राख्नेछ।’

वैदेशिक रोजगारीबाट फर्केकासँग सोच, सीप र स्वपूँजी पनि हुने भएकाले विशेष ध्यान दिनेतर्फ सरकारले काम गर्ने उनले विश्वास व्यक्त गरे। गत वर्ष नेपालले रु ३३ अर्बको चामल, रु १३ अर्बको मकै, रु सात सात अर्बको आलु, रु ६ अर्बको स्याउ, रु सात अर्बको मरिच र रु दुई अर्बको केरा आयात गरेको तथ्यांक छ। कोरोनाले यी क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने मार्ग प्रशस्त गरेको छ। सरकारले कृषि उपजको बजारीकरणका लागि साल्ट टे«डिङ कर्पोरेशनजस्ता संस्थालाई जिम्मा दिने निर्णय गरेको छ। किसानलाई राहत दिएर कृषि केन्द्रित उद्यमको विकासका लागि बजेट केन्द्रित गर्न सक्ने अवसर पैदा भएको छ।

ठूलो सख्यामा युवा विदेशबाट स्वदेश फर्कने अवस्थामा उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएन भने त्यसले सामाजिक द्वन्द्व निम्त्याउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। रोजगारीको क्षेत्रमा बजेटको प्राथमिकता बढी नै रहने उल्लेख गर्दै उनले उत्पादनमूलक उद्योगको प्रवद्र्धन र विकासलाई पनि जोड दिने बताए। उनले भने, ‘बाहिरबाट फर्केर आउनेलाई रोजगारी, देशभित्र, खाद्यान्नमा आत्मनिर्भर गर्ने र विप्रेषणको आप्रवाह कम भएका कारण नागरिकको क्रय शक्ति कम हुँदा भोकमरी हुन सक्ने अवस्थालाई ध्यान दिएर केही न केही भ्याल्यूएड भने गर्नैपर्छ।’

यस्तै विपद्ले पूँजीगत खर्च प्रभावित हुने देखिएको भन्दै उनले शुरु भएका गरिएका परियोजनालाई निरन्तर अगाडि बढाउने सोच राखिएको जानकारी दिए। सामान्य अवस्थामा सरकारले तय गरेको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हुने अवस्था भए पनि कोरोनाले घटेर २ दशमलव २७ मा सीमित रहने देखिएको छ। सार्वजनिक खर्च बढाउने भन्ने सोचमा अल्पविराम लागेको भए पनि सरकारले त्यसलाई क्रमशः सही मार्गमा लैजाने उपाध्यक्ष प्रा डा कँडेलको भनाइ छ।

जनता र खासगरी युवा शक्तिको भरोसालाई कायम राख्दै नकारात्मकताबाट सकारात्मक बनाउने सोचका साथ सरकारले काम गरेको उनको भनाइ छ। कोरोनाका कारण स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको जानकारी दिँदै उनले क्षमताको विकास तथा भौतिक संरचनामा पनि ध्यान दिइने उनको भनाइ छ। सातवटै प्रदेशमा सुविधासम्पन्न स्वास्थ्य संरचनाको निर्माण, जनशक्तिको व्यवस्थापनलाई पनि बढावा दिनुपर्ने आवश्यकता बढेर गएको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad