जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ।
नेपाल बीमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बीमा दाबीको करिब रू २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा उक्त रकम भुक्तानी भइसकेको जनाएको हो।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ करिब रु सात करोड ५० लाख, परिवहन बीमातर्फ करिब रू एक करोड ५५ लाख र अन्य बीमातर्फ करिब रू पाँच करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब रू तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनःबीमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनःबीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कूल दुई हजार ८६२ वटा पुनःबीमा दाबीको दाबी रकम करिब रू १६ अर्ब ६२ करोड रहेको अध्यावधिक तथ्याङ्क छ। रासस

प्रतिक्रिया