कारोबार


कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी

कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी

नेपालखबर
पुस १, २०८२ मंगलबार १४:२५, काठमाडौँ

नेपालमा कोरियाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपत्रमा टानसँगको सहकार्यमा काटाले नेपालमा धेरै कोरियाली पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम, अभियान र प्रचारात्मक गतिविधि आयोजना गर्ने, नेपालमा कोरियाली पदयात्री र अन्य पर्यटकहरूको सुरक्षा बढाउन टानलाई सूचना, प्रविधिमा सहयोग गर्ने नेपाली पर्यटकलाई कोरिया भ्रमण गर्न प्रोत्साहित गर्ने पहलहरू गर्नेलगायतका विषयहरु उल्लेख छन्।

सो अवसरमा राजदूत यङले दुई संस्थाबीच भएको समझदारीले पर्यटन प्रवद्र्धनसँगै दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुगेको बताए। उनले इपिएस प्रणाली र पर्यटनको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा पनि अझ फराकिलो बनाउन सकिने धारणा राखे।

काटाका उपाध्यक्ष वियोम्जेले टानसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरे।

टानका अध्यक्ष पाण्डेले नेपाल–कोरियाबीच सिधा हवाई उडानको सङ्ख्या बढाउनपर्ने आवश्यकता औँल्याउँदै दुई संस्थाबीचको समझदारीपछि एकअर्का देशमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी आउने विश्वास व्यक्त गरे । टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइँले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)मार्फत नेपाल भ्रमणमा आउने कोरियाली पर्यटक र पदयात्रीको सुरक्षको प्रत्याभूति गरिने बताए।

सो अवसरमा कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सिउ वनलगायत कोरियाली व्यवसायीहरुको पनि उपस्थिति थियो । कार्यक्रमको संयोजन टानका सहकोषाध्यक्ष लाक्पा टेम्बा शेर्पाले गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad