कारोबार


अण्डाको लागत मूल्य बढेर प्रतिगोटा १९.१२ रुपैयाँ पुग्यो

अण्डाको लागत मूल्य बढेर प्रतिगोटा  १९.१२ रुपैयाँ पुग्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार ११:५७, चितवन

अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ। पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा‍.अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य रु १९.१२ पर्न आउँछ । विगतमा लागत मूल्य रु १६.५६ रहेको थियो । तीन वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए।

यसअघि यही मंसिर पहिलो साता व्यवसायीले अण्डाको मूल्यमा भारी वृद्धि गरेका थिए। किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डाको पाँच सय पाँच र मिडिएमको रु चार सय ९० कायम गरेको थियो।

डा दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । यस अनुसार चल्लाको मूल्य प्रतिगोटा रु १५० का दरले रु १५ लाख, तीन प्रकारका दाना, औषधि र भेक्सिन गरी रु तीन करोड ४८ लाख ८८ हजार ८०० खर्च निकालिएको छ। यसमा सुरुमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई दुई किलो, जसको मूल्य प्रतिकिलो रु ६८ राखिएको छ।

हुर्काउलो कुखुराका लागि छ किलो (एल टु दाना), यसको सरदर मूल्य रु ६१ राखिएको छ। उन्नाइस हप्तादेखि ८० हप्तासम्मको अण्डा दिने समयका लागि ४८ किलो एलथ्री दाना एउटा कुखुराले खान्छ। जसको मूल्य रु ६०.५० पर्दछ । त्यस्तै औषधि र भेक्सिनको रु ११ लाख खर्च हुने उनले जानकारी दिए।

त्यसैगरी मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत, धानको भुस, खोरको मर्मत, खोरमा त्रिपाल, चल्ला तातो बनाउने ग्यास, अण्डाको क्रेट र डिजेल गरी रु ६० लाख ५८ हजार ६९६ खर्च हुने दाहालले बताए।

जसमा मजदुर खर्च रु २५ लाख २० हजार, भेटेरिनरी चिकित्सक (आंशिक) को रु चार लाख ५० हजार, व्यवस्थापकको रु सात लाख २० हजार, विद्युतकाे रु दुई लाख १३ हजार ९९६, धानको भुसको रु चार लाख, खोरको मर्मत रु तीन लाख ५० हजार, पाँच वटा खोरमा त्रिपाल राख्दा रु एक लाख ५० हजार, ग्यासको रु ४० हजार लागत निकालिएको छ।

यस्तै अण्डाको क्रेटको रु आठ लाख ९६ हजार र डिजल एवं जेनेरेटर खर्च रु तीन लाख १९ हजार लागत निकालिएको उनले जानकारी दिए।

त्यसैगरी अण्डा ढुवानीको मजदुर खर्च रु छ लाख ३० हजार, ढुवानी सवारीको रु दुई लाख ५० हजार र खोरको ह्रासकट्टी रु १९ लाख ७२ हजार ५००, मजदुरको आवासको ह्रासकट्टी रु दुई लाख र बैंक व्याज रु ४९ लाख ५९ हजार ७५० लागत निकालिएको छ। यी सबैको एकमुष्ट रु ८० लाख १२ हजार २५० हुन आउँछ।

सम्पूर्ण खर्च जोड्दा १० हजार कुखुरापालन गरी अण्डा उत्पादन गर्दा रु चार करोड ९८ लाख ५९ हजार हुन आउँने उनको भनाइ छ । डा दाहालले भने, “१० हजार कुखुरापालन गरी अण्डा उत्पादनपछि बजारसम्म पुर्याउँदा लाग्ने सम्पूर्ण खर्चलाई जोडेर लागत मूल्य निकालेका हौँ।”

त्यसैको आधारमा प्रतिगोटा लागत मूल्य रु १९.१२ पर्न आएको उनको भनाइ छ । पालिएका सबै कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बजारसम्म पुर्याउँदा नोक्सान हुनेजस्ता विषयवस्तु समेतको अध्ययन गरी लागत मूल्य निर्धारण गरिएको उनले बताए ।

चल्ला राखेदेखि अण्डा दिई ८० हप्तासम्म पाल्दा दुई हजार कुखुरा मर्ने हुँदा आठ हजार कुखुराले २६ लाख ८८ हजार अण्डा पार्दछन् । जसको तीन प्रतिशत फुट्ने र बिक्री अयोग्य हुन्छ। दाहालका अनुसार जसबाट ८० हजार ६४० वटा अण्डा बिक्री गर्न अयोग्य हुन्छ । यसरी हेर्दा २६ लाख ७ हजार ३६० अण्डा बिक्री गर्न योग्य हुन्छन्।

यसैगरी आम्दानीतर्फ अण्डा दिन छाडेपछि आठ हजार कुखुरा रु २०० का दरले बिक्री गर्दा रु १६ लाख र ३०० बोरा मल रु २०० का दरले बिक्री गर्दा रु ६० हजार गरी कूल अन्य आम्दानी रु १६ लाख ६० हजार हुने उनको भनाइ छ।

अध्ययन समितिको संयोजकमा सोही विश्वविद्यालयका प्रा डा रेवन्तकुमार भट्टराई, प्रा डा सुविर सिंह,सहप्राध्यापक डा‍.अनिलकुमार तिवारी र सदस्यसचिवमा उपप्राध्यापक डा अनन्त दाहाल रहेका छन्।

अध्ययन प्रतिवेदनमाथि सरोकारवालाहरुबीच अन्तक्र्रिया सम्पन्न भएको छ। मञ्चले आज एक विज्ञप्ति जारी गर्दै अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी निर्णय गरेको जनाइएको छ।

छलफलमा पन्छीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्र पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष शङ्कर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरे, चितवन चेम्बर अर्फ कमर्सका कोषाध्यक्ष प्रकाश श्रेष्ठलगायत पोल्ट्रीसँग सरोकार राख्ने सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए।

नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको लागत मूल्य निर्धारणका लागि गठित समितिले अण्डा उत्पादनका लागि लाग्ने विभिन्न खर्चहरुको विश्लेषण गरी वर्तमान अवस्थामा अण्डाको प्रतिगोटा उत्पान लागत रु १९.१२ कायम भएकाले उक्त लागत मूल्यलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

सो मूल्यलाई जिल्ला पशु सेवा कार्यालय हुँदै कृषि तथा पशुपछी विकास मन्त्रालय पठाई अनुमोदन गराउने निर्णय भएको सङ्घका अध्यक्ष रघुनाथ भट्टले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad