कारोबार


नयाँ सीईओ आएपछि कर्जा विस्तारमा आक्रामक एनआईसी एसिया बैंक

नयाँ सीईओ आएपछि कर्जा विस्तारमा आक्रामक एनआईसी एसिया बैंक

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ११:१२, काठमाडौँ

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) बढेसँगै एनआईसी एसिया बैंकले कर्जा विस्तारमा प्राथमिकतासाथ अघि बढेको छ।

सुजित कुमार शाक्य प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएसँगै बैंकले अल्पकालीन र दीर्घकालीन कर्जा विस्तार अभियान सुरु गरेको हो। 

‘समग्रमा बजारमा माग छैन। तर माग बढाउने गरी काम गर्नुपर्ने अवस्था छ’, बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलले भने, ‘बैंकसँग करिब ७५ देखि ८० अर्ब रुपैयाँसम्म कर्जा विस्तार गर्न सकिने रकम छ। जोखिम भारमा पनि छुट्याउनुपर्छ।’ 

नियामकीय नीतिको प्रावधानमा रहेर कर्जा प्रवाह गर्दा पनि २५ देखि ३० अर्ब विस्तार गर्न सकिने ठाउँ रहेको उनी बताउँछन्।  

‘अल्पकालीन योजनाअनुरुप बैंकले सेयर कर्जा, होम लोन र गोल्ड लोनमा र दीर्घकालीन योजनामा कर्पोरेट लोन विस्तार गरिरहेका छौँ’, उनले थपे।

अल्पकालीन कर्जा योजना
सुनमा बैंक तथा वित्त संस्थाहरुको करिब ८० अर्ब रुपैयाँ बराबरको लगानी छ। यसको बजार ठूलो रहेको र यसमा एनआईसी एसिया पनि प्रवेश गर्नुपर्छ भनेर ‘सफ्ट लन्च’ गरेको रावल बताउँछन्। 

‘छिट्टै गोल्ड लोन बजारमा सार्वजनिक गर्नेछौँ’, उनले भने। 

‘गोल्ड टेस्टर’हरु पहिचान गरेर पुसको पहिलो साताभित्र गोल्ड लोन प्रोडक्ट लन्च गर्ने एनआईसी एसियाको तयारी छ।  

रावलका अनुसार यस कर्जाको विशेषताको रुपमा सुन किन्न पनि कर्जा पाइनेछ। साथै सुन धितो राखेर कर्जा पनि पाइन्छ। गहनामा ७० प्रतिशत र बारमा ८० प्रतिशत कर्जा उपलब्ध हुनेछ। 

बैंकले न्यूनतम १ र अधितम ३ प्रतिशत प्रिमियममा गोल्ड लोन योजना ल्याउन खोजिरहेको छ।

‘विगतमा पनि बैंकले ५, ६ वर्ष अघि गोल्ड लोन ल्याएको थियो। तर त्यो बन्द हुन पुग्यो। त्यो समयमा सिमित शाखाहरुबाट मात्र गोल्ड लोन दिने व्यवस्था थियो’, प्रमुख सूचना अधिकारी रहेका उनले भने, ‘एउटा निश्चित भोल्युममा जाने भनेर आन्तरिक क्यापहरु तोकिएको थियो। त्यो पूरा भएपछि बन्द भएको थियो।’ 

तत्कालीन समयमा गोल्ड लोनको बैंकको पोर्टफोलियो सानो थियो। अहिले बजार विस्तार भएसँगै यसमा पुनः प्रवेश गर्न खोजिएको हो। 
एनआईसी एसियाले करिब ३१ वटा शाखाबाट गोल्ड लोन लिन सकिने व्यवस्था गर्न खोजिरहेको छ। 

‘सबै शाखाबाट गर्न सम्भव हुँदैन। यसका लागि दक्ष गोल्ड टेस्टर आवश्यक पर्छ’, उनले थपे। 

यस्तै बैंकले किफायती ब्याजदरमा सेयर कर्जा उपलब्ध गराइरहेको छ। सेयर कर्जा बेस रेट (आधारदर)मा ० देखि २ प्रतिशत ब्याजदरमा उपलब्ध छ। सेयर कर्जा सेयर धितोमा राखेर मात्र हैन, नयाँ सेयर किन्न पनि कर्जा प्रदान गरेको छ।

‘ब्रोकर बैंक एग्रिमेन्ट र सेयरलगानीकर्ताबीच सम्झौता हुन्छ। उक्त सम्झौताका आधारमा सेयर धितो कर्जा प्रदान गर्न बैंकले सर्ट लिस्ट गरेको सेयर खरिद गरेमा कर्जा पाइन्छ’, उनले स्पष्ट्याए, ‘जसमा बैंकले ७० प्रतिशत कर्जा उपलब्ध गराउँछ।’

होम लोन बेस रेटमा ०.२५ देखि २.२५ प्रतिशत थपेर उपलब्ध गराइएको छ। 

दीर्घकालीन योजना
नयाँ सीईओको आगमनसँगै बैंकले आफ्नो कर्जा रणनीति पनि परिवर्तन गरेको छ। विगतमा बैंकले कर्पोरेट हाउसहरुमा आक्रामक रुपमा कर्जा विस्तार गर्ने गरेको थिएन। 

अहिले कर्पोरेट हाउसहरुमा पनि कर्जा विस्तार गरेर अघि बढ्ने रणनीतिका साथ सीईओ शाक्य अघि बढेका छन्। यसका लागि शाक्य स्वयं नै कर्पोरेट हाउसहरुको भ्रमणमा निस्केका छन्। 

साथै प्रमुख व्यापारिक सहरका कर्पोरेट हाउसहरुमा उच्च तहका बैंकिङ अधिकारीहरु सक्रिय रुपमा गइरहेका छन्। त्यसैगरी बैंकले जलविद्युतमा ९/१० अर्ब रुपैयाँको प्रतिबद्धता जाहेर गरिसकेको छ।

यीबाहेक करिब ७ वटा हाइड्रोको लाइन रहेको बैंककै एक अधिकारी बताउँछन्।

‘ठूलो परियोजनामा न्यूनतम एक अर्ब लगानी हुन्छ। थप ५ देखि ७ अर्ब जलविद्युतमा लगानी ठूलो अवस्था रहन्छ’, ती अधिकारीले भने, ‘पीपीए गरेको मितिका कारण फाइनान्सियल क्लोजर गर्न पनि हाइड्रोहरुको लागि लगानी आवश्यक छ।’ 

दीर्घकालीन रणनीतिका रुपमा बैंकले एसएमई अर्थात् साना र मझौला उद्यम र ‘निट फर सेगमेन्ट’मा पनि नयाँ प्रोडक्टहरु ल्याउने योजना बनाइरहेको छ। यसका लागि बैंकले अध्ययन तथा अनुसन्धान अघि बढाइरहेको छ। 

अहिले बैंकहरुमा अधिकत समान प्रकारका प्रोडक्टहरु छन्। बजारले खोजेको नयाँ प्रोडक्ट तथा व्यवसायलाई उपयुक्त हुने प्रोडक्टहरु ल्याउन सकिन्छ भनेर अध्ययन भइरहेको प्रमुख सूचना अधिकारी रावलको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad