कारोबार


प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:३६, काठमाडौँ

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले शेरचन पक्राउ परेको पुष्टि गरे।

सीआईबीले पछिल्लो समय प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे अनुसन्धान गरिरहेको छ। 

सो क्रममा नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन, प्रभु म्यानेजमेण्ट प्रालिको खाता सञ्चालक हेमकुमार महाजु पक्राउ परिसकेका छन्। 

ठाकुरप्रसाद मानन्धर लगायतले जाहेरी दिएपछि सीआईबीले कुसुम लामा समेत माथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। 

अनुसन्धानको क्रममा प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा ९ लाख ९९ हजार ५ सय रुपैयाँका दरले पटक पटक रकम जम्मा गरेको पाइएको छ। 

शंकास्पद रूपमा रकम जम्मा भएको, रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेण्ट प्रालिले रेमिट रकम भुक्तानी मात्र गर्नु पर्नेमा प्रस्तुत कारोवारमा एकै दिनमा पटक पटक शंकास्पद रकम जम्मा भएको देखिएको, प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालन भएको सिटिजन्स बैंकको खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपालमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डी मार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएको सीआईबीको दाबी छ। 

विदेशमा बसेका नेपालीहरुले पठाएको रकम भुक्तानी दिन सहकारी मार्फत् विप्रेषण बापतको रकम भुक्तानी गराउने गरी २०६९ पुस १ गते प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनि ट्रान्फर प्रालिबीच करार सम्झौता भएको थियो।

त्यतिबेला दुवै कम्पनीका मुख्य सञ्चालक देवीप्रकाश भट्टचन थिए। प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी उक्त प्रभु म्यानेजमेन्ट प्रालिका तर्फबाट तत्कालिन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरू मार्फत विप्रेषणको कारोबार गर्ने सम्झौता गरेकी थिइन्। 

नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली, २०७९ २०७९ माघ १३ गते जारी भएकोमा त्यसविपरित उनीहरुले काम गरेको आरोप उनीहरुमाथि छ। 

प्रभु म्यानेजमेन्ट प्रालिको सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्तिलाई विप्रेषण बापतको रकम भुक्तानी गरेको तर प्रभु मनि ट्रान्फर प्रालिका अध्यक्ष देवीप्रकाश भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रालिबाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरेको आरोप छ। 

देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट यस विषयमा उजुरी परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad