नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटको ‘रोस्टर अफ’ गरेको छ।
उडानका क्रममा भिडिओ र फोटोग्राफी गरेको भन्दै क्याप्टेन विजय लामा र सोनी राणालाई अर्को सूचना नभएसम्म विमान उडाउन रोक लगाएको हो।
उडान सञ्चालन सुरक्षा नियमको बर्खिलाप गरेको भन्दै प्राधिकरणले कारबाही गरेको जनाएको छ। उनीहरुले कारबाही फुकुवा नभएसम्म विमान उडाउन पाउनेछैनन्।
प्राधिकरणका उपनिर्देशक ज्ञानेन्द्र भुलले उनीहरुमाथि छानबिनका लागि निगमलाई चिठी पठाएको बताए।
‘अब उहाँहरुले उडाउन मिल्दैन। यो विषयमा अब वायुसेवा निगमले आन्तरिक छानबिन गर्छ। अब विमान उडाउन पाइँदैन’, उनले नेपालखबरसँग भने, ‘उहाँले उडान समयमा ककपिटबाट फोटोग्राफी, भिडियोग्राफी गरको भन्ने उजुरी आयो। त्यसपछि हामीले कदम चालेको हो। अनुसन्धान र प्रतिवेदन पठाउने काम निगमको हो।’
यो प्रक्रिया लम्बिएमा ३ महिना वा ६ महिनाका लागि उनीहरु विमान उडाउनबाट वञ्चित हुन सक्नेछन्। यस्तोमा उडाउन नदिनु भनेकै बेला उडाएमा अझ ठूलो कारबाही हुने उनको भनाइ छ।
Shares

प्रतिक्रिया