रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बर ४ मा भारत आउने भएका छन्।
भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पुटिनले डिसेम्बर ५ सम्म भारत भ्रमणमा रहनेछन्।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमणमा आउनुहुनेछ। राष्ट्रपति पुटिनले २३औँ वार्षिक भारत-रुस शिखर सम्मेलनमा भाग लिनुहुनेछ।’
भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतका प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने तालिका छ।
पुटिनको भ्रमणले भारत-रुस द्विपक्षीय सम्बन्धको समीक्षा गर्न र रणनीतिक साझेदारी अझ बलियो बनाउन महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ।
दुई नेताबीच विश्वव्यापी मुद्दाहरूमा पनि छलफल हुने बताइएको छ।
यसअघि पुटिनले अन्तिमपटक डिसेम्बर २०२१ मा भारत भ्रमण गरेका थिए।
यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँग युद्ध सुरु भएयता पुटिन भारत आएका छैनन्।
पुटिन सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा आयोजित जी-२० शिखर सम्मेलनमा पनि आएनन्।
Shares

प्रतिक्रिया