कारोबार


यसवर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्न किसानको माग

गत वर्ष तोकिएको अनुदान र यस वर्ष न्यायोचित मूल्य नपाए चरणवद्ध सडक संघर्ष गर्ने चेतावनी
यसवर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्न किसानको माग

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८२ बिहिबार ११:२२, काठमाडौँ

किसानले यस वर्ष उखुको मूल्य प्रतिक्वीन्टल न्यूनतम ७५० रुपैयाँ कायम गर्न माग गरेका छन्। 

केही दिनअघि देशभरिका उखु उत्पादक कृषक प्रतिनिधिले कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारलाई भेटेर गत वर्षभन्दा बढाएर उखुको मूल्य निर्धाण गर्न माग गरेका हुन्। 

मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल सातसय ५० कायम गर्न माग गर्दै किसानको तर्फबाट मन्त्री परियारलाई ज्ञापनपत्रसमेत बुझाइएको जानकारी दिए। 

‘हाम्रो माग अनुसार उखुको मूल्य वृद्धि नभए चरणवद्ध सडक संघर्षमा जाने चेतावनीसमेत हामीले दिएका छौँ,’ उप्रेतीले नेपालखबरसँग भने, ‘सरकार, उद्योगी र किसानकोसमेत सहभागिता र सहमतीमा यस वर्ष मूल्य तोक्नुपर्ने माग हामीले मन्त्रीसँग गरेका छौँ।’

सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, नवलपरासी, कञ्चनपुर, सप्तरी लगायत करिब एक दर्जन जिल्लाका उखु किसानसँग सम्बन्धित प्रतिनिधिले मन्त्री परियारलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

झण्डै १० वर्षदेखि सरकारले किसानलाई उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो। तर, केपी ओली नेतृत्वको सरकारले  किसानले पाउँदै आएकाे अनुदानको रकम ५० प्रतिशत कटौती गरेको थियो।

सरकारले अनुदान कटौती गरेपछि गत वर्ष क्रसिङ भएको उखुको किसानले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्रै भुक्तानी पाएका छन्। किसान भने अनुदान कटौतीको विरुद्धमा छन्। उनीहरूले गत वर्षको बाँकी प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान पनि यही मङ्सिर १३ गतेभित्र भुक्तानी नभए आन्दाेलन गर्ने चेतावनी दिएका छन्।

गत वर्ष सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनी मिलले प्रतिक्वीन्टल ५८५ रुपैयाँ दिने र सरकारले अनुदान बापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो। 

चिनी उद्योगहरुले क्रसिङ भएको उखुको त्यतिबेलै सबै भुक्तानी दिइसकेका छन्। तर सरकारले  भने आफैँले गरेको निर्णय विपरित प्रतिक्विन्टल ७० रुपैयाँका दरले दिने भनेको अनुदानबाट ३५ रुपैयाँ कटाैती गरेर कोष तथा लेखा नियन्त्रक कार्यालयमा रकम पठाएको छ। 

गत वर्षको बाँकी ३५ रुपैयाँ अनुदान रकम यही मंसिर १३ गतेभित्र भुक्तानी नभए १४ गतेदेखि पूर्वपश्चिम राजमार्गममा चक्काजाम गरेर आन्दोनल सुरु गरिने उप्रेतीले बताए। 

उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी

उद्योगीहरूले भने उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी गरेका छन्। 

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले यही मंसिर १४ गते डोँगा पूजा राखेको छ। डोँगा पूजालाई उद्योग सञ्चालनको अन्तिम तयारीको रुपमा बुझिन्छ। 

उद्योगका प्रशासन शाखाका प्रमुख ठाकुर नेपालले आगामी आइतबारको शुभ साइतमा डोँगा पूजा गरिने बताए। ‘अहिले डोँगा पूजा भए पनि उद्योग सञ्चालन हुँदा पुस लाग्छ होला,’ नेपालले भने। उनले यस बीचमा उखुको मूल्य पनि निर्धारण हुन सक्ने बताए। 

नेपाल उखु उत्पादक संघ सर्लाहीले बुझाएको ज्ञापनपत्र 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad