कारोबार


अर्थमन्त्री खतिवडा र एडीबीका अध्यक्षबीच फोनवार्ता, लगानीबारे छलफल

अर्थमन्त्री खतिवडा र एडीबीका अध्यक्षबीच फोनवार्ता, लगानीबारे छलफल

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १२:४७,

अर्थमन्त्री युवराज खतिवडा र एसियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच कोभिड– १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे आज टेलिफोनका माध्यमबाट वार्ता भएको छ।

वार्तामा माननीय अर्थमन्त्री र बैंकका अध्यक्ष बीच कोभिड – १९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको हो।

कुराकानीका क्रममा माननीय अर्थमन्त्रीले कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो संक्रमण हुन नपाएको जानकारी गराउनु हुदै कोरोना महामारीको असरलाई सम्बोधन गर्न एशियाली विकास बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्रीहरु र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गरे।

अर्थमन्त्रीले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउनु हुदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसा समेत गरे। साथै, नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने कुरामा समेत जोड दिए।

अर्थमन्त्रीले यस सन्दर्भमा स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा पनि गरे।

अर्थमन्त्रीले कोभिड –१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउनु हुदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गरे।

उनले कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गरे।

एसियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड –१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड –१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आगामी दिनमा बैंकले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad