कात्तिक महिनामा ९३ हजार ६६९ वटा घरजग्गा कारोबार भएका छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लिखत पारित, नामसारी, संशोधन, हाल साबिक, रोक्का र फुकुवा क्रमशः २८ हजार ३८३, २ हजार ९ सय ८७, ९ हजार ४ सय ६२, १ हजार ७ सय ७१, २२ हजार २९१ र २२ हजार ७५ वटा भएका छन्।
यसबाहेक अपार्टमेन्ट, लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहीयानी हक नामसारी, मोही लगत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि प्रक्रिया, गुठी अधीनस्थ जग्गाको लिखत पारित, गुठी अधीनस्थ जग्गाको नामसारी, दाखिल खारेज, गुठी जग्गा तथा सम्पदा, गैरघर तथा जग्गासम्बन्धी लिखत पारित, स्रेस्ता एकीकरण, आयोजना फिर्ताको लिखतजस्ता कारोबार भएको विभागले जनाएको छ।
लिखत पारित धेरै हुने जिल्लाहरुमा मोरङ, सप्तरी, सिरहा, धनुषालगायत छन्।
कति उठ्यो राजस्व?
कात्तिक महिनामा सरकारले घरजग्गा कारोबारबाट २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ।
सेवा करबाट २१ करोड ३४ लाख ४७ हजार, रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ५० करोड ६२ लाख ९६ हजार, अतिरिक्त शुल्कबापत १ लाख १२ हजार, डोर सुविधा शुल्कबाट १० लाख २४ हजार, पुँजीगत लाभकरबापत ९९ करोड ७८ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ। यसबाहेक विलम्ब शुल्कबापत ३ लाख ७२ हजार र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ५४ लाख ४७ हजार रुपैयाँ संकलन भएको छ भने रोक्का दस्तुरबापत ६ लाख २६ हजार रुपैयाँ संकलन गरिएको छ।
कात्तिक महिनामा सबैभन्दा बढी कित्ताकाट भएका जिल्लाहरुमा धनुषा, ललितपुर, काठमाडौं, सुनसरी, झापालगायत छन्।
Shares

प्रतिक्रिया