बौद्धिक सम्पत्ति प्रयोग गरेबापत नेपालबाट पैसा विदेशिने क्रम बढ्न थालेको छ।
बौद्धिक सम्पत्ति बिक्री तथा दाबी शीर्षकबाट नेपालमा भित्रिने रकमको तुलनामा बाहिरिने रकममा फराकिलो अन्तर देखिन थालेको हो।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामै बौद्धिक सम्पत्ति शीर्षकमा नेपाल सरकारको व्यापारघाटा १७ करोड ९६ लाख रुपैयाँ पुगेको हो।
साउन, भदौ र असोज महिनामा नेपालबाट यो शीर्षकमा १७ करोड ९८ लाख रुपैयाँ विदेशमा भुक्तानी हुँदा नेपालमा भने सो अवधिमा २ लाख रुपैयाँँ मात्रै भित्रिएको हो।
राष्ट्र बैंकले गत वर्षबाट बौद्धिक सम्पत्तिलाई पनि आयातनिर्यातको सूचीमा समावेश गर्न थालेको छ। जसमा गत वर्ष र चालू वर्षको पहिलो त्रैमासिकमा व्यापारघाटा उच्च देखिएको छ।
गत वर्षको पहिलो त्रैमासिकमा २३ करोड २८ लाखबराबरको रकम बौद्धिक सम्पत्ति खरिद तथा दाबी भुक्तानीमा बाहिरिदा ८ लाख रुपैयाँ मात्रै नेपाल भित्रिएको थियो।
गत वर्षको पहिलो त्रैमासिकको तुलनामा चालू आवको पहिलो त्रैमासिकमा बौद्धिक सम्पत्ति शीर्षकमा बाहिरिने रकम घटे पनि व्यापारघाटा गहिरिँदै गएको हो।
Shares

प्रतिक्रिया