ad ad

कारोबार


किसानका बारीमै कुहिनथाले तरकारी, ऋण खोजेर कामदारलाई तलब

किसानका बारीमै कुहिनथाले तरकारी, ऋण खोजेर कामदारलाई तलब

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ८:२८,

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावश्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउँदै आएको छ।

तर किसानहरु भने आफ्नो उत्पादन विक्री नभएर समस्यामा परेका छन्। एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन भने अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौंको नोक्सानी व्यहोर्नुपरेको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिनाभन्दा बढी भइसकेको छ। देशभर जारी लकडाउनको कारण सवारी आवागमन ठप्प छ । सरकारले खाद्य वस्तु एवं अत्यावस्यक वस्तुको ढुवानीमा कुनै रोक नलगाएको बताउँदै आएको छ । तर किसानले भने आफ्नो उत्पादन बजार सम्म पु¥याउन नपाउँदा समस्यामा परेका छन्।

किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिएर गएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का धनश्याम दासले २२ बिघा जमिनमा तरकारी खेती गरेका छन्। लकडाउनको कारण तरकारी विक्री नभएको भन्दै व्यापारीले तरकारी नलैजाँदा उनले गरेको उत्पादन बारीमै कुहिएको छ।

तीन बिघा क्षेत्रफलमा लगाएको पाटे घिरौंला प्रसस्त उत्पादन भएको छ तर बिक्री नभएपछि सुकेर गएको छ । कुनै बेला एक सय रुपैयाँ प्रतिकिलो विक्री हुने पाटे घिरौंला अहिले सस्तोमा दिँदा समेत विक्री नभएको गुनासो उनको छ।

यस्तै १० बिघा क्षेत्रफलमा लगाएको गोलभेडा र तीन विगाहमा लगाएको लौका सहित अन्य तरकारी पनि बिक्री नहुँदा कुहिएर गएको दासको भनाइ छ। उनले लकडाउन भएयता ५ ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै १० ट्रक कुहिने अवस्थामा पुगेको बताए। उनले अहिले गोलभेडा १० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्न खोज्दा समेत बिक्री नभएको बताए।

लकडाउन हुनभन्दा पहिले नारायणगढ, पोखरा, काठमाडौंको बजारबाट अत्याधिक माग हुने गरेको र मूल्य समेत राम्रो पाउने गरेकोमा अहिले विक्री नभएर समस्यामा परेको कृषक दासले बताए। उनले तरकारी बिक्री नभएपछि कामदारलाई तलब खुवाउन र बैंकको किस्ता तिर्न समेत समस्या भएको बताए।

यसअघि तरकारी उत्पादनबाटै लाखौं आम्दानी गर्दै आएकोमा अहिले कामदारलाई तलब खुवाउन समेत ऋण खोज्नुपरेको छ । लकडाउनका कारण यो सिजनमा मात्रै २ करोड रुपैयाँ सम्म नोक्सानी हुने गुनासो उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .