कारोबार


इप्पानले भन्यो: भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौँ

इप्पानले भन्यो:  भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौँ

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १४:४३, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरु सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन्। 

भारत सरकारले नेपालसँग प्रशारण सञ्जाल विस्तार गर्न चासो देखाउनु, भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेत भएको उनले बताए। 

भारतले दीर्घकालिन रुपमा आफूलाई चाहिने बिजुली व्यवस्थापन गर्न लागेको बताउँदै उनले नेपालले पनि बिजुली उत्पादनमा अब अलमल गर्न नहुनेमा जोड दिए। कार्कीकाअनुसार भारतलाई नेपालको बिजुली चाहिन्छ भन्ने बुझाइ बनेको छ। ५-१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ र त्यो नेपालबाट नै ल्याउनुपर्छ भन्ने अवस्था भारतले देखेको छ। 

नत्र भने उसले यति ठूलो लगानी गरेर ट्रान्समिसन लाइन बनाउनुपर्ने कुनै कारण नरहेको कार्कीको बुझाइ छ। कार्कीकाअनुसार भारत बिजुली खरिदका लागि पूर्वतयारी गरिरहेको छ। तर नेपालले विद्युत उत्पादन बढाउन सकेको छैन्। अब भारत बिजुली खरिदमा तयार हुँदै गर्दा नेपाल बिजुली उत्पादनका हिसाबले तयार भएर सोही अनुसारको वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ। 

‘नेपाल सरकारले भारत सरकारसँग ट्रासमिसन लाइन बनाउने कुरा आयो। मलाइ के लाग्छ भने भारत सरकारलाई कहिन कहिँ नेपालको बिजुली चाहिन्छ है भनेर किन्न तयार हुन खोजेको देखियो। ५-१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ, र त्यो नेपालबाट नै आयात गर्नुपर्छ भन्ने भारतलाई परेको छ,' उनले भने, 'होइन भने यति धेरै ट्रान्समिशन लाइनका लागि उसले खर्च गर्नुपर्छ भन्ने जरुरी थिएन। त्यसले गर्दा भारत तयार हुँदैछ। तर त्यो सँगसँगै हामी नेपाली बिजुली उत्पादनका लागि तयार छौं छैनौँ, त्यसले अर्थराख्छ। त्यो तयार हुनुका लागि हामीले पनि त्यही अनुसारको तयारी गरेर बिजुली उत्पादन सुरु गर्नुपर्ने हो।’

कार्कीले एमसीसी परियोजनाको प्रशारण लाइन र अन्य ट्रान्समिशन लाइनहरू निर्माणको चरणमा रहेको भन्दै यी सञ्जालहरू बनेपछि अझ बढी बिजुलीको माग बढ्ने बताए। 'सरकारले जलविद्युत्‌को क्षेत्रमा स्पष्ट नीति ल्याउनुपर्छ होइन भने उर्जा उत्पादकलाई सरकारले भारत र बंगलादेशलाई बिजुली चाहियो भने उनीहरूले आफैं लगानी गरेर बनाएर लैजाने बताइदिनुपर्छ,' उनले भने।  

कार्कीकाअनुसार नेपालले प्रसारणमा प्रगति गरे पनि विद्युत् उत्पादन नबढाए भविष्यमा ठूलो अवसर गुमाउने जोखिम छ। हाल नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत भारतमा निर्यात अनुमति पाएको छ। 

नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई भारतीय पक्षले नवीकरण गरिदिएको छ। विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । 

भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ। अघिल्लो साता भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नविकरण भएको थियो। 

उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएसँगै आगामी दिनमा समेत भारतमा बिजुली बिक्री गर्न सहज भएको छ।

त्यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत बिक्री भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad