कारोबार


झापामा हुनसकेन बजार अनुगमन

झापामा हुनसकेन बजार अनुगमन

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार २०:३२, झापा

जेनजी आन्दोलन पछिको असहज परिस्थितिका कारण यसपटक जिल्लामा बजारको अनुगमन हुनसकेन। दसैँ र तिहार दुवै पर्वका बेला बजारको अनुगमन कसैले गरेनन्।

बजारको स्वच्छताका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएका पालिकाहरु भदौ २४ गते आगजनी र तोडफोड भएपछि आफैँ विस्थापित अवस्थामा पुगे। अनुगमन टोलीको मुख्य सरोकारवाला प्रहरीका भवन जलेका छन् भने कतिपय हतियार भीडले लुटेर लगेको अवस्था छ। 

‘अनुगमन गर्ने अवस्था नै रहेन,’ विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला भन्छन्, ‘नगरपालिका र प्रहरीका कार्यालय ध्वस्त भएका छन्।यस्तो विषम परिस्थितिमा अनुगमन कसरी गर्नु? नगरपालिकाले अनेक प्रयत्न गरेर नागरिकलाई अतिआवश्यक सेवा प्रदान गर्ने कार्य बल्ल सुरु गरेको छ।’ 

झापाका १५ पालिकामध्ये १४ वटा पालिकामा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको थियो भने दर्जनौँ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय त्यस्तै आगजनी र तोडफोडको सिकार भएका थिए। यसअघि विर्तामोड नगरपालिका बजार अनुगमनमा अन्य पालिकाको तुलनामा बढी सक्रिय रहँदै आएको थियो। कृषि थोक बजारमा विषादी अवशेष जाँचेर मात्र तरकारी तथा फलफूलको बिक्री वितरण गर्न दिइने कडा व्यवस्था लागू भइरहेको थियो।

बजारको स्वच्छताका लागि अगुगमन गर्ने अधिकार स्थानीय पालिकाहरूले पाएका छन्। झापाको विर्तामोड, शिवसताक्षी लगायतका केही पालिकाले फर्मालिन रसायन प्रयोग भएको माछा बिक्री गर्न नपाइने नियम लागू गर्दै आएका थिए । जेनजी आन्दोलनपछिको असहज अवस्थामा मरेका माछाको बिक्री वितरण खुल्ला रूपमा हुने गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाइँले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए। 

‘असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,’ सहायक प्रजिअसमेत रहेका प्रसाइँले भने, ‘बजार अनुगमनभन्दा बाढी प्रभावितको राहत र उद्धारमा ध्यान दिनुपर्ने अवस्था आयो।’

जेनजी आन्दोलनपछि बजार अनुगमनले निरन्तरता पाउन नसके पनि उपभोक्ताबाट कुनै गुनासो र उजुरी नआएको उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तुको मिसावट, नापतौलमा ठगीलगायत उपभोक्ता हितविपरीतका गतिविधि नगर्न सार्वजनिक रूपमा आग्रह गर्दै आएको उनले बताए।

उपभोक्ता जागरण अभियान नेपालका झापा अध्यक्ष शालिकराम भट्टराईले अनुगमनको अभावमा बजारमा अराजकता फैलिएको बताए। 

‘व्यापारीले जति भाउ बढाए पनि भएकै छ, कसैको नियन्त्रण छैन,’ उनी भन्छन्, ‘बजार पूरै अराजक बनेको छ। तरकारी, खाद्य वस्तु, यातायात भाडा लगायतको मूल्यवृद्धि आकासिएको छ।’ उनले स्थानीय पालिकालाई तत्काल बजार अनुगमन गरेर उपभोक्ताको हितमा काम गर्न आग्रह गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad