प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनबारे आशंका नगर्न दलहरूसँग आग्रह गरेकी छन्।
मंगलबार विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउने प्रतिवद्धता व्यक्त गरिन्।
‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ।यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ’ उनले भनिन्।
दलहरूले आफूहरूसँग सम्वाद गर्न ढिलाई गरेको गुनासोबारे पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।
उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो। सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन। राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ।’
उनले अब जेनजी र दलहरू छलफलमा बस्नुपर्ने प्रस्ताव पनि गरिन्।
आज मात्रै उनले घाइते जेनजीहरूसँग छलफल गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले अवस्थालाई सामान्यीकरण गर्दै चुनावतर्फ जानुपर्ने बताइन्। उनले दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेको पनि दोहोर्याइन्।
‘जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ’ उनले भनिन्, ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ।’

अपरान्ह करिब ४ बजेबाट सुरु भएको बैठक साँझ पौने ९ बजे सकिएको हो।
बैठकमा अधिकांश दलका नेताहरूले शान्तिपूर्ण रुपमा चुनाव हुनेमा आशंका व्यक्त गरेका थिए।
‘निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राख्नुभएको छ। निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ,’ सञ्चारमन्त्री जगदीश खरेलले भने, ‘एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन।’
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत तथा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए।
यस्तै, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भएका थिए।
जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी भए।
संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी भएका थिए।
Shares

प्रतिक्रिया