कारोबार


राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०८२ सोमबार १३:५७, काठमाडौँ

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालनमा ल्याएको नेशनल आइडेन्टिटी मेनेजमेन्ट इन्फरमेसन सिस्टम्स (निडमिस) सँग जोडिएको छ।

व्यक्ति पहिचानलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागवीच गत भदौ महिनामा भएको संयुक्त बैठकको निर्णयबाट दुई प्रणाली जोड्ने निर्णय भएको थियो।

सैद्धान्तिक रुपमा निर्णय भएपछि सफ्टवेयर प्रदायक कम्पनी र दुबै विभागका प्राविधिकहरुले आबद्धतासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेपछि विभागले आधिकारिक निर्णय गरी आगामी असोज २९ गते बुधबारदेखि यो प्रणाली अनिवार्य गर्ने गरी सूचना जारी गरेको छ। 

यसरी फेम्स प्रणाली र निडमिस प्रणाली अन्तराबद्ध हुँदा तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत रुपमा प्राप्त गर्न सकिने, वैदेशिक रोजगारमा जाने व्यक्तिलाई गन्तव्य मुलुकको भौगोलिक, भाषिक, सांस्कृतिक तथा ट्राफिक नियमबारे सामान्य जानकारी गराउने, यात्रा पूर्वको तयारी र यात्राको क्रममा पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी गराउने, वैदेशिक रोजगारीको सिलसिलामा आउन सक्ने समस्या र समाधानका उपायका बारेमा जानकारी गराउने, कामदारले गर्न हुने र गर्न नहुने काम तथा रोजगारदातासंग करार गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने,कामदारले पाउने सेवा सुबिधा एवं वित्तीय साक्षरता बारेमा जानकारी गराउने जस्ता कार्य भई वैदेशिक रोजगार अझ बढी सुरक्षित, व्यवस्थित र मर्यादित हुन जान्छ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबदेखि अभिमूखीकरण तालिममा वास्तविक व्यक्ति पहिचान भएपश्चात मात्र ब्याच हाल्न मिल्ने र व्यक्ति स्वयं उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागु भएको बताए। जसको लागि वैदेशिक रोजगारमा जाने व्यक्ति श्रम स्वीकृतिको प्रणालीमा आउनुपूर्व राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा आवद्ध भईसकेको हुनुपर्नेछ।

यसको सम्पूर्ण तयारी पूरा भए पनि ३ दिनपछिदेखि मात्र अनिवार्य गरिएको महानिर्देशक भट्टराईले बताए। भट्टराईका अनुसार पहिलो चरणमा अभिमूखीकरण तालिममा व्यक्ति पहिचानमा मात्र प्रणाली आवद्ध गरिएको र आगामी दिनमा क्रमशः श्रम स्वीकृति, स्वास्थ परिक्षण र अध्यागमनको प्रणालीसँग आवद्ध गरी वास्तविक व्यक्ति पहिचान गर्न सकिने छ। 

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन हालसम्म वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेम्स) मा प्रविष्ट गरी श्रम स्वीकृति लिई जानुपर्ने व्यवस्था छ। यसरी श्रम स्वीकृति लिनुपूर्व अभिमूखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ।

हालसम्म उक्त तालिममा सहभागी हुने व्यक्ति राहदानी बहाक व्यक्ति भए नभएको एकीन हुने अवस्था थिएन। वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयं उपस्थित नभएर अरु नै व्यक्तिको वायोमेट्रियक प्रविष्ट गरेपनि श्रम स्वीकृति प्रणालीमा जाँच गर्ने प्रावधान थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad