कारोबार


भोटेकोसीमा जेनजीको मागअनुसार १० प्रतिशत सेयर दिने सहमति

भोटेकोसीमा जेनजीको मागअनुसार १० प्रतिशत सेयर दिने सहमति

नेपालखबर
असोज २६, २०८२ आइतबार २०:५६, काठमाडौँ

जेनजीका नाममा एक समूहले मागेअनुसार भोटेकोसी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर दिने सहमति भएको छ।

भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित बासिन्दा समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति जनाएको हो।

कम्पनीले भोटेकोसीका स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग यो सहमति गरेको हो। यद्यपि, स्थानीयलाई दिने भनेको १० प्रतिशत सेयर यसअघि २०७१ पुस ९ को सम्झौतामा ४ प्रतिशत बढाई १० प्रतिशत कायम गर्ने सहमतिपत्रमा उल्लेख छ। २०७१ मा ६ प्रतिशत सेयर स्थानीयका नाममा कायम गर्ने सम्झौता भएको थियो।

सहमतिपत्रमा  जेनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष फुर्पा शेर्पा, सदस्यहरू सांगे शेर्पा, वीरबहादुर लामा र मिङमार शेर्पाले हस्ताक्षर गरेका छन्।

आयोजना प्रवर्धकका तर्फबाट कम्पनी सचिव विश्वमोहन कर्माचार्य, सहायक महाप्रबन्धक बबिन प्रधान र सहायक प्रबन्धक प्रेम साउँदले सही गरेका छन्।

सहमति गर्दा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बवन्धुप्रसाद बास्तोला, जिल्ला प्रशासन कार्यालय, प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैंया, स्थानीय तहका जनप्रतिनिधि र अन्य कार्यालयका प्रमुखहरू पनि रोहबरमा बसेका छन्।

सहमतिका बुँदाहरू:
भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष) ले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो। दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत सेयर साबिक मिति २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो।

दोस्रो पक्षको सेयरको अंकित मूल्य रु १०० रहेको सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले दोस्रो पक्षमा हाल्ने सेयर सम्बन्धमा प्रथम पक्षले कर्जाको लागी बैंकमा निवेदन दिने र बैंकले दिने कर्जाको लागी दोस्रो पक्षले जमानीको ब्यवस्था गर्ने एवम् सो कर्जा आगामी १ वर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधै सञ्चालन भएको अवस्थामा कर्जा तथा ब्याज समेत चुक्ता हुने गरी दोस्रो पक्षले व्यवस्था गर्ने सो लाभांशबाट फर्स्योट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति गरियो।

पहिलो पक्षले दोस्रो पक्षको १० प्रतिशत सेयरको लागि जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीको सेयरधनी बनाई सके पछि दोस्रो पक्षको १० प्रतिशत सेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति गरियो।

दोस्रो पक्षले भोटेकोसी गाउँपालिकालाई सामाजिक उत्तरदायित्ववापत दिँदै आएको साविकको रकममा थप गरी वार्षिक रुपमा जम्मा रु २,५०,००,००० (अक्षरेपी करोड पचास लाख मात्र) दिने सहमति गरियो। अब उप्रान्त साविकमा विभिन्न शीर्षकमा दिँदै आएको रकम प्रथम पक्ष लगायत कसैले पनि दाबी नगर्ने सहमतिसमेत गरियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad