समाज


अस्ट्रेलियन पर्यटकको झोला बाँदरले खोस्दा राहदानी नै गायब!

अस्ट्रेलियन पर्यटकको झोला बाँदरले खोस्दा राहदानी नै गायब!

नेपालखबर
असोज २६, २०८२ आइतबार २०:५७, पर्वत

पर्वत सदरमुकाम कुश्माको बञ्जि साइडमा अनौठो घटना घटेको छ। पछिल्लो समय गाउँघरमा बाँदर आतङ्क बढेको खबर त नौलो थिएन। तर कुश्मामा बाँदरले एक अस्ट्रेलियन नागरिकसहित दुई जनाको राहदानी नै गायब पारिदिएको छ।

बाँदरले अष्ट्रेलियाबाट नेपाल घुम्न आएका वाल्मस्ली मेथो आडम्स र उनकी श्रीमती दिब्या कार्कीको राहदानी राखेको झोलानै गायब बनाएपछि ती पर्यटक अहिले बिलखबन्दमा परेका छन्।

पर्वतको कुश्मास्थित बन्जी साइडमा द क्लिफले सञ्चालनमा ल्याएको बञ्जि र अर्को शाहशिक खेल जीपलाइन अवलोकनका लागि आइपुगेका पर्यटक चढेको गाडीको छतमा रहेको राहदानीसहितको झोला बाँदरले लिएर भिरतिर भागेको पीडित पर्यटकले बताएका छन्। आडम्स र कार्कीले एउटै झोलामा राहदानीसहित अन्य महत्वपूर्ण कागजात राखेका थिए।

राहदानी बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि झोला भेटिएको छैन।

‘शनिबार उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ। कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,’ उनले भने, ‘फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ।’

खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। ‘हिजोदेखि सात प्रहरीको टोली खटाएका छौँ, आज सशस्त्र प्रहरी पनि खटिएको छ,’ उनले भने, ‘तर भेटिएको छैन। जङ्गलतिर होला भनेर खोजिएको हो। भीर छ, छिर्नै गाह्रो छ।’

उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरूले प्रहरीमा निवेदनसमेत दर्ता गरेका छन्। खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ। यदि पाइएन भने नयाँ प्रक्रियाबाट राहदानी लिनुपर्छ,’ प्रहरी नायव उपरीक्षक यादवले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad