कारोबार


मन्त्री घिसिङले गरे क्षतिग्रस्त बीपी राजमार्गको अनुगमन

शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न निर्देशन
मन्त्री घिसिङले गरे क्षतिग्रस्त बीपी राजमार्गको अनुगमन

नेपालखबर
असोज २३, २०८२ बिहिबार १०:४८, काठमाडौँ

यही भदौ १८ गतेको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन्। 

बिहीबार बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ बीपी राजमार्गको अनुगमनमा गएका हुन्। 

उनले बीपी राजमार्गअन्तर्गत भकुन्डे–नेपालथोक सडक खण्डमा पर्ने काभ्रेको चौकीडाँडा खण्डको अनुगमन गर्दै बाढीपहिरोले बगाएको सडकको अस्थायी ट्रयाक चाँडै तयार गर्न निर्देशन दिएका छन्।

बाढीले बीपी राजमार्गको करिब चार किलोमिटर सडक बगाएको छ। सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्न लागिएको हो। 

मन्त्री घिसिङले शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न निर्देशन दिएका छन्। 

संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग चाडपर्वको बेला बन्द हुँदा यात्रीले सास्ती पाउँदै आएका छन्।  

बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको करिब चार किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो। 

बीपी राजमार्ग संघीय राजधानी काठमाडौँलाई बागमती, मधेस र कोसी प्रदेशका जिल्लालाई जोड्ने लाइफ लाइन सडकको रुपमा चिनिन्छ। 

गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डे-नेपालथोक खण्ड क्षति पुर्याएको थियो। उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। तर, यस वर्ष पुनः बाढीले करिब चार किलोमिटर सडक पूर्ण रुपमा बगाएको छ। 

गत वर्ष निर्माण गरिएको डाइभर्सन बगाएको ठाउँमा पुनः नयाँ डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्न लागिएको हो। 

गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्कासमेत लागि सकेको छ। केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad