कारोबार


चन्द्र ढकालको प्रश्न: हरेक आन्दोलनमा निजी क्षेत्र किन निशानामा पर्छ?

चन्द्र ढकालको प्रश्न: हरेक आन्दोलनमा निजी क्षेत्र किन निशानामा पर्छ?

नेपालखबर
असोज ७, २०८२ मंगलबार २१:४७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताए। 

आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे। निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत  योगदान गरिरहेको उनले बताए।

अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन गरिएको जानकारी दिए।

‘हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तीको सामना गर्दै यो अवस्थामा आइपुगेका हौं। भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दालदन पछि सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। हामी सामु यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ’ उनले भने।

यद्यपी वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रुपमा लिएको बताए।

उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसंगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राखे। 

महासंका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरुमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु पर्ने बताए। उनले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तरराष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने बताए।

महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यक्ता भएको बताए।

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नु पर्ने बताए।

सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैं खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका वियषमा पैरवी गर्दै आएको बताए। महासंघ र सेजनबीच लामो समय देखि सहकार्य रहँँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत सो सहकार्यको निरन्तरतामा जोड दिए। 

महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिीसथतीमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासंघले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad