कारोबार


शपथलगत्तै जेनजी सहिदका घरमा कुलमान

शपथलगत्तै जेनजी सहिदका घरमा कुलमान

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १३:५०, काठमाडौँ

ऊर्जासहित तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले शपथ लिएलगत्तै जेनजी आन्दोलनका सहिदको घरमा गएर तस्बिरमा माल्यार्पण गरेका छन्।

शीतलनिवासबाट निस्केर उनी सहिद धीरज श्रेष्ठको घरमा गएर श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनलाई सहानुभूति पनि प्रकट गरे।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ।

तिनैमध्येका एक हुन्, धीरज। भदौ २४ गते आन्दोलनका क्रममा बालाजुमा उनको निधन भएको थियो। 

कुलमानले धीरजका घरमा गएर शोक पुस्तिकामा श्रद्धाञ्जलिका शब्द कोरे। सहिदको सपना साकार पार्न इमानदार भएर लाग्ने प्रतिबद्धता पनि जनाए।

परिवारजनले पनि २२ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेका कुलमानले देशले चाहेअनुसार काम गर्नेमा पूर्ण विश्वास रहेको बताए। र, आफ्नो तर्फबाट साथ र सहयोग रहने परिवारजनको भनाइ थियो।  

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि पाएका छन्।

कुलमानसहित तीन जना नवनियुक्त मन्त्रीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतलनिवासमा शपथ ग्रहण गरेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनाल, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी अधिवक्ता ओमप्रकाश अर्याललाई दिने गरी सिफारिस गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad