कारोबार


भग्न सिंहदरबारको शिरमा फर्फराइरहेको नेपालको झण्डा

दुईपटक ढलेर उठ्यो, तेस्रोपटक कसरी उठ्ला?
भग्न सिंहदरबारको शिरमा फर्फराइरहेको नेपालको झण्डा

भदौ २४ मा जलेर भग्नावस्थाको सिंहदरबार र शिरमा फर्फराइरहेको नेपाली झण्डा (सरोज नेपाल/नेपालखबर)


सम्झना घिमिरे
भदौ २९, २०८२ आइतबार १७:१४, काठमाडौँ

नेपालमा प्रजातन्त्रको उदयदेखि पुनर्बहालीसम्म, लोकतान्त्रिक गणतन्त्रको स्थापनादेखि अहिलेको जेनजी प्रदर्शनको उत्कर्षसम्म।

इतिहासको कठघरामा उभिएर सिंहदरबारले ठूला–ठूला राजनीतिक घटनाको साक्षी बक्यो। तर नेपालकै प्रमुख प्रशासनिक केन्द्र पाँच दिनयता भने भग्नावशेषमा परिणत भएको छ।

छ दिन अघिसम्म सेतै पोतिएका नेपालको प्राचीनता झल्काउने पुरातात्विक भवनहरुका दृश्य अब तस्बिरमै सीमित बन्न पुगेका छन्। २३ र २४ गतेको जेनजी प्रदर्शनपछि सिंहदरबारले बेग्लै सन्नाटा छोडेको छ।

अधिकांश भवनहरु डढेका छन्। यिनै भग्न अवस्था अवलोकन गर्न जानेले भुइँभरि खरानीका थुप्रामा पैतालाको डाम राख्दै जानुपर्छ। यहाँ रहेका मन्त्रालयहरु क्षतविक्षत देखिन्छन्। आँगन र पार्किङमा भेटिँदैनन् एउटा सद्दे सवारीसाधन। तिनका केवल कंकाल मात्र बाँकी छन्। 

नेपालखबरले मंगलबारको सन्त्रास र ध्वंसपछि शुक्रबार सिंहदरबार टेकेको थियो। जति बेलासम्म नेपाली कला पोखिएका भवनका खम्बाहरु धूवाँ छोडिरहेका थिए। 

दरबार दरबारजस्तो थिएन। देखिन्थ्यो– कुनै ठूलो युद्धपछि बाँकी रहेको एउटा खण्डहर संरचनाजस्तो। 

सिंहदरबारका सेताम्य भित्ताहरु धूवाँमा पिल्सिएर खैरा छन्। अधिकांश भत्किएका छन्। १०७ वर्ष पुराना कलाकृतिहरु यत्रतत्र छिरोलिएका छन्।

सिंहदरबारले यो स्वरूप छोडेको ५ दिन मात्र भएको छ। एकै दिन, केही घण्टाभन्दा पनि कम समयमा जसै उत्तेजक प्रदर्शनकारीले आगो सल्काए, निमेषभरमै ढल्यो इतिहासको एउटा धरोहर। युगको इतिहासलाई धूलीसात् बनाउँदै। 

टिलिक्क टल्किएर नेपालीको शान देखाउने सिंहदरबारको शिर अहिले नुहेको छ। कुनै बेला यो दक्षिण एसियाकै ऊँचो प्रशासनिक केन्द्र थियो। 

आगोको ज्वाला र धूवाँको मुँस्लोले पूरै सिंहदरबार निले पनि शिरको राष्ट्रिय ध्वजा उसै गरी फर्फराइरहेको छ, जसरी ६ दिनअघि फर्फराउँदै थियो। न आगोको दाग देखिन्छ, न त च्यातिएको नै छ। 

मानौँ, यसभित्रका चन्द्र र सूर्यलाई कुनै पत्तो नै छैन ५ दिनअघि के भएको थियो। 

चन्द्रशमशेरले २५ लाख खर्चेर बनाएका थिए दरबार 
सिंहदरबारको ऐतिहासिक विरासत खोज्न झण्डै एक शताब्दीभन्दा अझै अगाडि पुग्नुपर्ने हुन्छ।  

आजभन्दा १२२ वर्षअघि अर्थात् वि.सं. १९६० मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विलासी आवासको रुपमा बनाएको दरबार नै आजको सिंहदरबार हो। जुन बनाउन त्यतिबेला नै २५ लाख खर्च भएको बताइन्छ।

उक्त दरबार बेलायती शिल्पकलाले भरिपूर्ण भएकै कारण दक्षिण एसियाकै आकर्षक भवन बन्यो। तीन वर्षसम्म राणाहरुले भोग गरेको यो दरबार त्यसबेला १७ सय कोठाको थियो भने दरबारभित्रै ८ वटा चोक थिए। 

विलासिताको उपमा बनेर छुट्टै परिचय पाएको यस दरबारमा चन्द्रशमशेरले प्रवेशद्वारमा दुई सिंहको मूर्ति र युरोपेली वास्तुकलाको सजावट भरे।

राणाकालीन समयमा यो विलासिताको तात्कालिक मानक नै बनेको थियो। वि.सं. २००७ सालको क्रान्तिले १ सय वर्षे राणाशासन फालिएसँगै यसलाई प्रशासनिक पहिचान दिइएको थियो। 

सोही बेला चन्द्रशमशेरबाट उक्त दरबार खोसेर नेपाल सरकारको प्रधानमन्त्रीसहितका मन्त्रीहरुको कार्यालय बनाइयो। त्यसयता पूरै देशको प्रमुख प्रशासनिक कार्य सिंहदरबारले थेग्दै आएको छ। 

भग्नावशेष बन्दा पनि देशको प्रशासन सिंहदरबारले नै धानेको छ। यतिसम्म कि २४ गतेको ध्वंसपछि २९ गते नवगठित सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारबाटै देशबारे विभिन्न निर्णय गरेकी छिन्।

राजाले बम पड्काएर जोगाए, अब कसरी उभिएला? 
नेपालको सिंगो चिनारी बनेर उभिएको सिंहदरबार ढलेको यो तेस्रोपटक हो। 

यसअघि पनि दुई पटकसम्म विभिन्न कारणले ढलेको थियो। तर पुनः उभिएर देशको प्रशासन धानिरह्यो। वि.सं. २०३० मा विद्युत् सर्ट भई आगो लाग्दा तत्कालीन राजा वीरेन्द्रले सिंहदरबारको अगाडिको भाग बचाउन भवनको बीचमा बम पड्काउन आदेश दिएका थिए।

बम पड्किँदा भवन दुई भागमा छुट्टियो र पूरै जल्नबाट जोगियो। 

भवन पूरै जल्नबाट बचाउन बम पड्काइए पनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले आफूले संरक्षण गर्न नसकेको भन्दै पदबाटै राजीनामा दिएका थिए। 

त्यसपछि २०७२ सालमा आएको भूकम्पले दरबारको संरचनामा क्षति पुर्‍यायो। भूकम्पले क्षतविक्षत बनाएको दरबारलाई नेपाल सरकारले त्यस बेला करिब ४ वर्ष लगाएर पुनर्निर्माण गरेको थियो। ऐतिहासिक भएकै कारण त्यसबेला रेट्रोफिटिङ (प्रबलीकरण) गरेर पुनर्जीवन दिइएको थियो। सिंहदरबारको पश्चिमतर्फ (दरबार अगाडिको) गेटको गत वर्ष मात्रै पुनर्निर्माण सकिएको थियो।

दुई पटकसम्म ढलेको दरबार ५ दिनअघि तेस्रो पटक जेनजी प्रदर्शन भड्किएपछि ढलेको छ। पहिलोपटक आगो लाग्दा रोकथामको प्रयास भए पनि यसपटक भने कुनै प्रयास भएन। तीन दिनसम्म निरन्तर बलेकाले यसपटक सिंहदरबारले अपूरणीय क्षति भोगेको छ– पैसाभन्दा बढी प्राचीन कलाकौशलको। 

ढलेको सरकार त नयाँ बनिसकेको छ, तर युवा आक्रोशको ज्वालामा दन्किएको सिंहदरबार कसरी र कहिले उठ्ला, टुंगो छैन।

तस्बिरमा हेर्नुहोस्–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad