कारोबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप

विदेशी पर्यटकलाई गन्तव्यमा जान सहजीकरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप

नेपालखबर
भदौ २६, २०८२ बिहिबार ८:१७, काठमाडौँ

जेनजी आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालनमा आएको छ। बुधबार साँझदेखिनै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन्।

विमानस्थल सञ्चालमा आएपछि गएराति र आज बिहान केही अन्तर्राष्ट्रिय उडान भएका छन्। अहिले विमानस्थलमा यात्रुको भिड लागेको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। 

विमानस्थलबाट उडान सुरु भएपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए। 

विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ। 

यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा बोक्न पनि नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयले अनुरोध गरेको छ। 

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थल कार्यालयले जनाएको छ। 

नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ। यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको छ।
     
निजी क्षेत्रकाे हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णकाअनुसार आज बिहानदेखि  नियमित रुपमा उडानहरू भइरहेका छन्। काठमाडौँ र बाहिरका गन्तव्यमा दुई/तीन दिनदेखि रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ। यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुँदै आएका छन्।

विमानस्थल बिहान ६ः०० बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad