कारोबार


नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल

नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल

नेपालखबर
भदौ २१, २०८२ शनिबार १०:१२, रामेछाप

कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ। यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो। 

काठमाडौँमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ। 

त्यसबेला काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बढी व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत सोलुको लुक्ला पुर्याउने गरिन्छ। 
   
दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा चल्ने विभिन्न एयरलाइन्सले जिल्ला जिल्लामा जान अग्रिम  बुकिङ खुला गरे पनि रामेछापका नागरिकहरूका लागि भने हवाइजहाजबट यात्र गर्न कुनै एयरलाइन्सहरूले अग्रिम बुकिङ खुला गरेका छैनन्। 

पर्यटकको सिजनमा मात्र विमानस्थल चल्ने भएकाले विमानस्थल वरपरका रहेका होटल तथा पसलहरू पनि यतिखेर सुनसान छन्। जिल्लामा विमानस्थल हुँदाहुँदै पनि रामेछापका नागरिकहरूले यसको सुविधा नपाउनु दुःखको कुरा भएको स्थानीयको भनाइ छ। रामेछापका नागरिकहरूलाई पनि हवाई सुविधा दिलाउने पहल राजनीतिक दल र प्रदेश तथा सङ्घीय सांसदले गर्नुपर्ने स्थानीय वीरेन्द्र श्रेष्ठले बताए। 

उनले भने, ‘यहाँका मानिसहरू सडकमार्गमार्फत काठमाडौँ जाँदा बिपी राजमर्गको १२५ किमि पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नुपर्दछ।’

गत वर्ष असोजको १२ गते आएको बाढीले पुष्पलाल मार्ग र बिपी राजमार्गको धेरै ठाउँका सडकमा क्षति पुगेकाले यी दुवै मार्ग जोखिमयुक्त छ। जिल्लामा सुविधा सम्मन्न एम्बुलेन्स नभइरहको अवस्था र मन्थलीबाट काठमाडौँका लागि भएका दुईवटा सडक मार्गहरू पनि भरपर्दा नभएकाले जटिल प्रकृतिका बिरामीहरू काठमाडौँ पठाउन निक्कै समस्या हुने गरेको श्रेष्ठको भनाइ छ।

नजिकिँदै गरेको दशैँ तिहारजस्ता पर्वका लागि हिजोआज सहरबाट गाउँ आउनेहरूको सङ्ख्या बढ्दै जान लागेको छ। जोखिमपूर्ण सडकमार्गका कारण चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली–१ का नारायणदास श्रेष्ठ बताउछन्। 

जिल्लामा हवाई सेवाला निरन्तर गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ मन्थली नगरले पटकपटक पहल गरेको भए पनि त्यसको टुङ्गो नलागेको मन्थली नगरपालिकामा नगर पालिकाका प्रमुख लव श्रेष्ठ बताए। 

मेयर श्रेष्ठले भने, ‘रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गर्न जिल्लाका सङ्घीय सांसदसहित आफूहरू पर्यटन मत्रीलाई ध्यानाकर्षणपत्र बुझाउन पर्यटन मन्त्रालय गएको र मन्त्रीले सकारात्मक आश्वासन पनि दिएको तर त्यसको कुनै सुनुवाइ अहिलेसम्म नहुँदा नागरिकले निर्वाचित प्रतिनिधिलाई विश्वास गर्न छाडेका छन्।’

रामेछापमा लामो सङ्घर्षपछि मात्र एयरपोर्ट कालोपत्रे गर्न सफल भएको, आफ्नो निरन्तर प्रयासले गत वर्ष असोजमा गएको बाढीका कारण मन्थलीबाट काठमाडौँ जाने दुवैतर्फको बाटो अवरुद्ध हुँदा आफूले निक्कै प्रयास गरेर केही समय हवाई सेवा सुरु भए पनि हाल बन्द भइको पूर्वराज्यमन्त्री एवं सङ्घीय सांसद पूर्णबहादुर तामाङले बताए।

उनले भने, ‘यहाँको  विमानस्थलबाट रामेछापका नागरिक आउजाउ गर्नसक्ने गरी जहाज सञ्चालनका लागि विशेष पहल भइरहेको छ, सकभर दशैँअघिदेखि नै नियमित उडान गराउन म लागिपरेको छु। विशेष पहल गर्ने तयारी छ।’

सोलुको लुक्लासम्मका लागि सीता, तारा र समिट एयरका एयरलाइन्सले यस एयपोर्टबाट पर्यटक ओसार्ने सिजनका बेला ६० देखि ६५ वटासम्म उडान भर्ने गरेका छन्। ती एयसलाइन्सका जहाजमार्फत आलोपालो प्रणालीद्वारा जिल्लाका नागरिक र बिरामीहरूलाई पनि सेवा दिने गरी आफ्ना कार्यक्रम  सञ्चालन गर्नुपर्ने मन्थली न पा–२ का  स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad