अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई एस्काभेटर र दुई टिपर बगाएको छ।
काबेली खोलाले नम्बर नखुलेका दुई एस्काभेटर र दुई टिपर बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
सिरीजंघा गाउँपालिका–१ स्थित उक्त पावर हाउसबाट बगाएका दुई एस्काभेटर करिब २० मिटर तल डुबेको अवस्थामा छन्। दुई टिपर भेटिएको छैन। टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति नभएको जनाइएको छ।
वर्षासँगै माथिबाट पहिरो खसेपछि सिरीजंघा-५, पेदाङस्थित हाङमाया थुङ्गिम (लिम्बू)को परिवार पूर्ण रूपमा विस्थापित भएको छ। अरू पाँच घर पनि जोखिममा परेको स्थानीय राजनीतिकर्मी खेलप्रसाद बुढाक्षेत्री (पराग)ले जानकारी दिए।
सिरीजंघा-७ स्थित महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ। नयाँ बनाउँदै गरेको भवनछेउबाट पहिरो खसेको वडा सदस्य जगत साम्यूले जानकारी दिए।
आइतबार (भदौ १५) राति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा भएको थियो। वर्षासँगै सानाठूला पहिरोले बर्खे बालीनालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।
Shares

प्रतिक्रिया