कारोबार


धुलिखेल–सूर्यविनायक सडकः रोकिएको विस्तार कार्य सुरु

धुलिखेल–सूर्यविनायक सडकः रोकिएको विस्तार कार्य सुरु

नेपालखबर
भदौ १०, २०८२ मंगलबार २१:४४, काभ्रेपलाञ्चोक

वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ। 

सडक पिच गर्नका लागि ‘सिटिबी’ को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको हो। जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए। उनका अनुसार यसअघि असार र साउन महिनामा मनसुनका कारण विस्तार कार्य रोकिएको थियो। 

बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा नै रहेको छ। उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार कार्य रोकिएको हो। सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण कार्य अवरुद्ध पारेको जनाइएको छ। 

यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन। हाल बनेपाको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माण कार्य भइरहेको छ। पुलबजारबाहेकको सूर्यविनायकदेखि धुलिखेलसम्मको अन्य स्थानमा भने छोटो खण्ड–खण्डमा काम भइरहेको खनालले बताए।

उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकिएको छभने केही दिनमा नै सडक कालोपत्रको तयारी भइरहेको छ। धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युत्को ‘हाइटेन्सन लाइन’को पोल सार्न बाँकी रहेको जनाइएको छ। 

यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमा नै नसकिने भएको छ। आयोजनाले बाँकी करिब पाँच महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो।

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ। 

हाल दुई खण्डमध्ये सूर्यविनायक–साँगा खण्डको ३७ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिए। साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ। 

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि पहिलो चरणमा साँगा–धुलिखेलका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि चार लेनमा विस्तार थालिएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad