कारोबार


माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनाए उखु किसानको आन्दोलनमा ऐक्यबद्धता (तस्बिरहरू)

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनाए उखु किसानको आन्दोलनमा ऐक्यबद्धता (तस्बिरहरू)

सरोज नेपाल
भदौ १०, २०८२ मंगलबार १३:५२, काठमाडौँ

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाडौँको माइतीघरमा पुगेर उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। 

सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले गएको आइतबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन धर्ना दिइरहेका छन्। 

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठ आज किसानकाे धर्नामै सहभागी भएर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। उनले उखु किसानले पाउँदै आएको अनुदान कटौती गर्ने सरकारी निर्णय गलत भएको बताए। 

उखुका लाँक्रासहित संघीय राजधानी आएका किसानले अनुदान माग गर्दै धर्ना सुरु गरे पनि सरकारले अहिलेसम्म चासो देखाएको छैन। 

धर्नामा तराईरमधेसका १३ जिल्लाका अगुवा किसानको सहभागिता छ। सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासी, कञ्चनपुरलगायत तराईरमधेशका जिल्लाबाट आएका उखु किसान धर्नामा सहभागी छन्। 

गएको असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानले पाउँदै आएको प्रतिक्विन्टल उखुको ७० रुपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको थियो। 

गत वर्ष क्रसिङ भएको उखुको प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान दिने निर्णय सरकारले गरे पनि चालु आर्थिक वर्षको बजेटमा भने उखुको अनुदानका लागि सरकारले कुनै बजेट विनियोजन गरेको छैन।

यसबाट यो वर्ष क्रसिङ हुने उखुको अनुदान किसानले नपाउने निश्चित जस्तै देखिएको छ। किसानले २०६६ सालदेखि उखुमा अनुदान पाउँदै आएका थिए। 

चालु आर्थिक वर्षको बजेटमा उखु किसानलाई दिने अनुदानको कुनै व्यवस्था नगरेको सरकारले गत वर्ष क्रसिङ भएको उखुकै पनि अझै अनुदान दिएको छैन।

सरकारले अनुदान रकम कटौती गर्दा लाखौँ किसान उखु खेतीबाट पलायन हुने अवस्था आएको उखु किसानले बताएका छन्। 

उनीहरूले किसानले पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad