कारोबार


पूर्वउद्योगमन्त्रीको सुझावः औषधि लिमिटेडबाट प्रेरणा लिऔँ, आफ्नै स्रोत साधन प्रयोग गरौँ

पूर्वउद्योगमन्त्रीको सुझावः औषधि लिमिटेडबाट प्रेरणा लिऔँ, आफ्नै स्रोत साधन प्रयोग गरौँ

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १०:१३,

पूर्वउद्योगमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीले कोरोना संक्रमणले ल्याएको संकटलाई व्यवस्थित गर्न आफ्नो स्रोत साधनलाई परिचालन गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन्।

उनले नेपाल औषधि लिमिटेड केही समयअघि मात्रै पुनर्सञ्चालनमा आएको र यो संकटको समयमा सेनिटाइजर उत्पादन गरेर सरकारलाई सहयोग गरिरहेकोले अन्य स्रोत साधन पनि परिचालन गर्न प्रेरणा मिलेको बताएका हुन्।

औषधि लिमिटेड लामो समयदेखि बन्द अवस्थामा थियो। जोशी उद्योगमन्त्री हुँदा उनले सञ्चालनमा ल्याएका थिए।

उनले आफ्नो सुझाव दिने क्रममा औद्योगिक क्षेत्रका साथै अन्य अनौपचारिक क्षेत्रहरुमा कार्यरत मजदुरहरु खाद्य संकटका कारण कार्यस्थल छाडेर १२÷१५ दिनसम्मको पैदल यात्रा गरेर घरतर्फ जानुपरेको बाध्यता स्मरण पनि गराएका छन्।

सरकारले यस संवेदनशीलतालाई मनन गरेर राहतको व्यवस्थाका साथै उद्योगका तर्फबाट समेत उनीहरुको रोजीरोटीमा ध्यान दिने व्यवस्था गरी गराई मजदुरहरुको संकट तत्काल समाधान गर्न पनि भनेका छन्।

उद्यमशीलता, निजी क्षेत्रका लगानी र संयुक्त लगानीका क्षेत्रहरुलाई विश्वास आर्जन हुने गरी सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने, अहिले रोजगारी दिइरहेका र भविष्यमा पनि रोजगारीमा वृद्धि गर्न सक्ने यस्ता क्षेत्रहरुको सुरक्षा र विकासमा सरकार संवेदनशील हुनुपर्ने बताएका छन्।

अहिले मुलुकमा मास्क र सेनिटाइजरको अत्यधिक अभाव देखिएको छ। ती सामग्रीहरु घरेलु उद्योगहरु र साना तथा घरेलु उद्योग महासंघसँग समन्वय गरी आवश्यकताअनुसार स्वदेशमै उत्पादन गर्ने र देशैभर उपलब्ध हुने व्यवस्था गर्ने, सकेसम्म निःशुल्क नसके सहुलियत दरमा पिछडिएका तथा गरिबीको चपेटामा परेकाहरुलाई वितरण गर्ने काम गर्न उनले सरकारलाई अग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .