सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ।
बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेका हुन्।
उनले समितिमा सांसदहरूले राखेका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानबिन समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताए।
सौर्य एयरलाइन्सबारे छानबिन आयोगले सेफ्टी अनुसन्धानबारे मात्रै निष्कर्ष निकालेको र न्यायिक निष्कर्ष निकाल्नुपर्ने जरुरी देखिएको बताए।
न्यायिक छानबिन समिति बनाउन मिल्ने हो की होइन भन्नेकुराको निर्क्यौलमा छिटै सरकार पुग्ने पनि उनको भनाई थियो। बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल हुने पनि उनले बताए।
मन्त्री पाण्डेले भने, ‘हामीले हवाई नीति बनाउँदैछौँ। अन्तिम चरणमा ड्राफ्ट भएको छ। २०१५ सालको ऐनलाई पनि हामी अब नयाँ मस्यौदा गर्ने क्रममा छौँ। सौर्य एयरलाइन्स दुर्घटना र त्यो दुर्घटनाले उजागर गरेका विषयवस्तु र दिगो समाधानका बारेमा धेरै पटक छलफल गरिसकेका छौँ। मेरो बुझाइ के छ भने सेफ्टी इन्भेष्टीगेसन जुन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्यारडिक्शन छ की भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौँ।’
मन्त्री पाण्डेले प्रश्न उठिसकेपछि यत्तिकै छोड्न नहुनेमा सरकार सचेत रहेको बताए।
Shares

प्रतिक्रिया