रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि व्यवसायीहरूले वैकल्पिक नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
असार २४ गते आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट बन्द बाढीकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध भएको थियो। जसले गर्दा दशैँका लागि भित्रिने सयौँ कन्टेनर बाटोमा थुनिएका छन्।
नेपाल समुद्रपार निकासी पैठारी संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०७२ सालमै सञ्चालनमा ल्याउन सकिने गरी पूर्वाधार तयार भइसकेका कोरला र ओलाङचुङगोला नाका खुलाउन आग्रह गरेको हो।
महिना दिन बितिसक्दा समेत नाका खुल्न नसकेपछि व्यवसायीहरूले अन्य दुई नाका खोलेर सामान आयात गर्ने वातावरण बनाउन आग्रह गरेका हुन्।
चीनसँगका व्यापारिक दुई ठूलो नाका नै अवरुद्ध भएपछि व्यवसायीहरूले तयारी अवस्थामा रहेका अन्य नाका खुला गरेर सामान आयात गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका हुन्।
हाल मुस्ताङ जिल्लाको कोरला नाका र ताप्लेजुङको ओलाङचुङगोला नाका सञ्चालन गर्न सकिने अवस्थामा रहेको भन्दै दशैँको सामान आयातमा सरकारले चीनसँग नाका खोल्न कूटनीतिक पहल गर्न माग गरेका छन्।
व्यवस्थापिका संसद्को विकास समितिले २०७२ सालमै उत्तरी नाकाहरूको अवस्था अध्ययन गरी कोरला र ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो।
नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सातवटा उत्तरी नाका खोल्न सहमत भएका थिए। ती नाकाहरूमा तातोपानी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए।
एक दशकअगाडि नै नाका सञ्चालन गर्ने योजना अगाडि बढाउन नसकेको सरकारलाई दुईवटा नाका मात्रै भएपछि तत्काल खोलेर आयात सहज बनाउन व्यवसायीहरूले आग्रह गरेका छन्।
‘चीनसँगको आयातनिर्यात सहज बनाउन अन्य नाकाहरू खोल्नु जरुरी रहेकोले कूटनीतिक पहलमार्फत ती नाकाहरू अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकाहरूमा पूर्वाधारको व्यवस्था गर्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
संघले १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा रहेको मुस्ताङको कोरला नाकालाई सञ्चालनमा ल्याएर तत्काललाई वस्तु आयातमा सहजीकरण गर्न कूटनीतिक पहल गर्न माग गरेको छ। कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार रहेको र नेपालतर्फको सडक पनि पुगेको अवस्थामा सरकारले छिटो नाका सञ्चालनमा ल्याए वस्तु आयातमा समस्या नहुने संघको तर्क छ।
प्राकृतिक प्रकोपका कारण अकस्मात् नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौँ कन्टेनर र ट्रकहरूबीच बाटोमै अलपत्र पर्दा चर्को व्यभारमा व्यवसायी परेको उनीहरूको गुनासो छ।
दशैँ नजिकिएसँगै व्यवसायीहरूले धमाधम चीनबाट सामानहरू आयात गनुपर्ने थियो। तर दशैँका लागि आएको सयौँ कन्टेनरहरू नाका अवरुद्ध हुँदा बाटैमा अलपत्र परेपनि व्यवसायीहरूले सरकारबाट तत्काल समाधान खोजेका छन्।
आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्यांकले देखाउँछ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।
चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आम उपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व पनि गुम्ने अवस्था रहेको तर्फ ध्यानाकर्षण गराउँदै संघले उत्तरका थप नाकाहरू व्यापारिक प्रयोजनको लागि खुला गर्ने आग्रह गरेको हो।
Shares

प्रतिक्रिया