कारोबार


‘अन्नपूर्ण स्क्वायर’ भव्य र विशाल बनाउने योजनामा विमानस्थलको मापदण्ड अड्चन

‘अन्नपूर्ण स्क्वायर’ भव्य र विशाल बनाउने योजनामा विमानस्थलको मापदण्ड अड्चन

नेपालखबर
साउन २८, २०८२ बुधबार १४:१४, काठमाडौँ

काठमाडौंको दरबारमार्गमा पाँचतारे होटलसहितको व्यापारिक भवन ‘अन्नपूर्ण स्क्वायर’ बनाउन लागे पनि विमानस्थल मापदण्ड बाधक बनेको छ।

यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा मीनबहादुर गुरुङको भाटभटेनी समूह, व्यवसायी उमेश श्रेष्ठको लिटल एन्जेल्स र सिर्जना राणाको अन्नपूर्ण समूहले संयुक्त रुपमा व्यापारिक भवन निर्माण प्रक्रिया अघि बढाएका थिए।

योजनाअनुसार होटल र व्यापारिक मलसहित २५ तले भवन तय भएको थियो। सोअनुसार बनाउने गरी भारतीय आर्किटेक्चर कम्पनीमार्फत डिजाइन तयार गरी अघि बढेको थियो। 

तर विमानस्थल मापदण्डअनुसार प्रस्तावित भवन २५ तले बनाउन नमिल्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १९ तलासम्मको हुने गरी स्वीकृति दिएको हो।

उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अन्नपूर्ण स्क्वायरले माग गरेअनुरुपको डिजाइन स्वीकृत नगरिएको जानकारी दिए।  उनका अनुसार प्राधिकरणले १९ तलाको मात्रै स्वीकृति दिएको हो।

‘एयरपोर्ट नजिकमा बन्ने क्षेत्रमा कति अग्लो भवन बनाउन दिने भन्ने छुट्टै प्राविधिक मापदण्ड छ। अन्नपूर्ण स्क्वायरको डिजाइन प्राधिकरणको मापदण्डभन्दा अग्लो देखियो। त्यसैले प्रस्तावित डिजाइनमा भवनको तला घटाएर ल्याउन भनिएको छ’, भूलले नेपालखबरसँग भने। 

एयरपोर्ट, रनवेबाट कुन दिशामा भवन बनाउने भन्ने आधारमा उचाइ निर्धारण हुन्छ। यसका लागि प्राधिकरणको प्राविधिक मापदण्ड छ। त्यो सफ्टवेयरबाट मापन हुन्छ। सफ्टवेयर नै कुन स्थानमा कति उचाइको भवन बनाउन सकिन्छ भन्ने जानकारी दिन्छ। 

एयरपोर्टबाट भवनको दूरी टाढा हुँदा उचाइ बढ्छ भने नजिक हुँदा उचाइ घट्छ। दरबारमार्गमा ६ अर्ब रुपैयाँ लागतमा २५ तले अन्नपूर्ण स्क्वायर निर्माण गर्ने योजनासहित २०८१ मंसिरमा भूमिपूजा गरिएको थियो। 

होटलमा सेयर होल्डरको रुपमा भाटभटेनीका अध्यक्ष गुरुङ मुख्य लगानीकर्ता छन्। उनी नै अन्नपूर्ण स्क्वायरका अध्यक्ष हुन्। 

उनका साझेदारको रुपमा व्यवसायी तथा पूर्वमन्त्री उमेश श्रेष्ठ छन्। यसमा स्वयं सिर्जना दम्पतीको पनि लगानी हुनेछ। यसमा भाटभाटेनीका गुरुङको ६० प्रतिशत, उमेश श्रेष्ठको २५ प्रतिशत र डेला अन्नपूर्णकी सिर्जनाको १५ प्रतिशत सेयर हिस्सा हुनेछ।

नौ लाख वर्गफिट क्षेत्रफलमा बिजनेस कम्प्लेक्ससहित ४० वटा अपार्टमेन्ट हुनेछ। फाइभ स्टार होटलसहित क्यासिनो पनि सञ्चालन गर्ने समूहको लक्ष्य छ। 

होटलमा साढे तीन सय कोठा हुनेछ। पार्टी, गोष्ठी, सेमिनार गर्न फरक–फरक क्षमताका तीनवटा ब्यांक्वेट पनि हुनेछ। ती ब्यांक्वेट २ हजार ५००, दुई हजार र १ हजार ५०० क्षमताको हुनेछ। 

अन्नपूर्ण स्क्वायर २०८५ वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी थियो। डिजाइन परिवर्तन गर्नुपर्ने देखिएकाले सुरुवाती लक्ष्य भेटाउन मुस्किल देखिन्छ। 

यो नेपालको हालसम्मको ठूलो क्षमताको होटल हुनेछ।

गत जेठमा काठमाडौं महानगरपालिकामा अन्नपूर्ण स्क्वारको डिजाइन सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो। अग्लो भवन बनाउन खोजिएकाले नागरिक उड्डायन प्राधिकरणबाट आवश्यक अनुमति लिएर आउनु भन्दै डिजाइन फिर्ता गरिएको काठमाडौं महानगरपालिकाका नक्सा विभागका प्रमुख ईन्जिनियर हरिशचन्द्र लामिछानेले जानकारी दिए।

‘सय मिटरभन्दा अग्लो भवनसहितको डिजाइन देखाइएको थियो’, लामिछानेले भने, ‘अग्ला भवन निर्माण स्वीकृति प्रदान गर्नुअघि प्राधिकरणको स्वीकृति पनि आवश्यक हुन्छ।’ 

नियामक तथा सरोकारवाला सम्पूर्ण निकायबाट स्वीकृति पाएपछि मात्र डिजाइनको अन्तिम स्वीकृति दिने निकाय महानगर भएको उनले बताए।

यो पनि– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad