व्यवसायी मीनबहादुर गुरुङको भाटभटेनी समूह र अर्का व्यवसायी उमेश श्रेष्ठको समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ।
दुवै समूहको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास गरेका हुन्।
समूहका अध्यक्ष मीनबहादुर गुरूङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरे।
यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। जसले मुख्यत: स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउनेछ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिनेछ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरूमार्फत स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोसाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी दिए।
‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहरू र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्ने विश्वास पनि लिएको छ’, उनले भने।
१ बिघा १३ कठ्ठा जमिनमा १ अर्ब ५० करोड लगानी हुने बताइएको छ।
Shares

प्रतिक्रिया