दरबारमार्गको होटल डेला अन्नपूर्णले झण्डै ६ दशक लामो विरासत धान्दै अतिथिलाई विलासी स्वाद पस्किरह्यो।
५९ वर्षअघि सन् १९६५ मा तत्कालीन अधिराजकुमारी हेलेन शाहले नारायणहिटी राजदरबारमा आउने पाहुनालाई राख्न बनाइएको अपार्टमेन्टलाई नै होटल बनाएकी थिइन्। यसको नाम अन्नपूर्ण राखिएको थियो।
सोही होटल पछि पाँचतारे अन्नपूर्ण होटल बन्न पुगेको थियो। अन्नपूर्ण नेपालकै पुरानो तारे होटलको रुपमा ५७ वर्ष राम्रोसँग चल्यो।
तर यो पाँचतारे होटल अब भने पूर्ण रुपमा भत्किँदै छ। अर्को शब्दमा भन्दा यो ‘अन्नपूर्ण स्क्वायर’को रुपमा २५ तलामा ठडिँदै छ।
यसैले अन्नपूर्ण होटलको फरक स्वाद फेरि चखाउने बताउँछिन् सञ्चालक सिर्जना राणा।
केही दिनअघि व्यवसायी मीनबहादुर गुरुङले गरेको भूमिपूजा यसकै सुरुवात हो।

समयको माग
सिर्जना र उनका श्रीमान् कपिल राणाले अन्नपूर्णको ‘लिगेसी’ नयाँ तरिकाबाट अघि बढाउन लागेका हुन्। यसलाई उनले समयको मागका रुपमा समेत बुझेकी छिन्।
मुख्य ३ कारणले नयाँ तरिका रोज्नुपरेको सिर्जना बताउँछिन्। पहिलो, पुराना कर्मचारीबाट बजारमा खुलेका नयाँ प्रतिस्पर्धी होटलजसरी परिणाम निकाल्न सकिएन।
दोस्रो, जग्गाअनुसार फाइदा लिन पनि सकिएन। होटलपछाडिको ठाउँ खेर गइरहेको थियो।
तेस्रो, होटल स्थापनाको करिब ६ दशक हुँदा भवनका संरचना पनि पुराना भएका थिए।
‘नेपालको पुरानो पाँचतारे होटल ५७ वर्ष राम्रोसँग चलाएर फाइदा लियौँ’, राणा भन्छिन्, ‘पहिला कन्ट्राक्ट नहुँदा सबै कर्मचारी स्थायी भए। आयको ४५ प्रतिशत कर्मचारीमै जाने भएपछि खर्च धान्न सकेनौँ।’
कोभिड महामारीपछि उठ्न नसकेको अन्नपूर्ण सदाका लागि ढल्यो।
ऋणले थिचेका राणा दम्पतीले २०२० को भ्रमण वर्षपछि ऋणमुक्त हुने आश गरेको थियो।
तर भ्रमण वर्ष सुरु भएको एक महिनामै विश्वभर कोभिड फैलियो। पर्यटकीय आवागमन ठप्प भएपछि उनीहरु ऋणको बोझले झन् थिचिए।
ऋण व्यवस्थापनका लागि केही जग्गा बिक्री गर्ने चर्चा चल्यो। तर नेपालमै व्यवसायमा स्थापित दुई साझेदारको ‘इन्ट्री’ले अन्ततः करिब ६ अर्ब लागतमा अन्नपूर्ण स्क्वायर बन्ने भयो।
३५ वर्ष जग्गा भाडामा दिएर साझेदारीमा बहुउद्देश्यीय संरचना बनाउन लागेको उनको भनाइ छ।

प्रिमियम लोकेसन र फराकिलो ठाउँको राम्रो उपयोग गर्ने रहर
सिर्जनालाई दरबारमार्गजस्तो काठमाडौंको प्रिमियम लोकेसनमा प्रशस्त जग्गाको राम्रो उपयोग नभएको लागिरहेकै थियो।
ठाउँ र सोचअनुसार होटल चल्न नसकेको उनको मनमा लागिरहन्थ्यो। यसले पनि नयाँ सोच आएको उनको भनाइ छ।
‘हाम्रो लिगेसी बोकेको होटल हो। मेरो श्रीमानले १५ वर्ष व्यवस्थापन हेरेर मलाई जिम्मा लगाउनुभएको थियो’, उनी भन्छिन्, ‘मैले व्यवस्थापन हेर्न थालेपछि दरबारमार्गजस्तो लोकेसन र फराकिलो ठाउँको राम्रो उपयोग कसरी गर्न सकिन्छ होला भन्ने सोचिरहेको थिएँ।’
नयाँ संरचना बनाउने मन त बनाइन्। तर लगानीको बोझ एक्लैले उठाउन नसकिने भयो।
साझेदार खोज्ने क्रममा व्यवसायमा स्थापित बन्दै गएका भाटभटेनीका मीनबहादुर गुरुङ र लिटल एन्जेल्सका उमेश श्रेष्ठ भेटेपछि अन्नपूर्ण स्क्वायरको परिकल्पना भयो।
सिर्जना थप्छिन्, ‘आफूलाई मात्रै लोड दिनुभन्दा डेभलपमेन्ट पार्टनर (विकास साझेदार)को रुपमा अघि बढेका हौँ, ३ जनाले संयुक्त लगानी गरेर अहिलेभन्दा भव्य संरचना बनाउन खोजेका हौँ।’

दरबारमार्गकै ब्रान्डिङ, मुख्य लगानीकर्ता गुरुङ
होटलमा सेयर होल्डरको रुपमा भाटभटेनीका अध्यक्ष गुरुङ मुख्य लगानीकर्ता छन्। उनी नै अन्नपूर्ण स्क्वायरका अध्यक्ष हुन्।
उनका साझेदारको रुपमा व्यवसायी तथा पूर्वमन्त्री उमेश श्रेष्ठ छन्। यसमा स्वयं सिर्जना दम्पतीको पनि लगानी हुनेछ। यसमा भाटभाटेनीको ६० प्रतिशत, उमेश श्रेष्ठको २५ प्रतिशत र डेला अन्नपूर्णको १५ प्रतिशत सेयर हिस्सा हुनेछ।
दरबारमार्ग ‘स्ट्रिट’लाई नै आकर्षक बनाउन नयाँ संरचनाले सहयोग पुग्ने राणा बताउँछिन्।
‘न्युयोर्कको वाल स्ट्रिटजस्तै काठमाडौंको दरबारमार्गको ब्रान्डिङ गर्न पनि अन्नपूर्ण स्कायरको संरचनाले भूमिका खेल्नेछ’, उनले भनिन्, ‘दरबारमार्गलाई नै सुविधापूर्ण र हरियाली क्षेत्र बनाउने सोच छ।’
होटलको पछिल्लो भागमा भौतिक संरचना हुनेछ भने अघिको भागमा हरियालीसहित भूमिगत पार्किङ हुनेछ।
राणाले दरबारमार्गमा नयाँ होटल बने पनि ३५ वर्षको लागि भाडामा दिएकी हुन्। जग्गा बहुमत हिस्सा राणाहरुमै छ।

४२ रोपनीमा २५ तले अन्नपूर्ण स्क्वायर
गत मंसिर ४ गते गुरुङले भूमि पूजा गरेसँगै अन्नपूर्ण स्क्वायरको औपचारिक निर्माण सुरु भएको छ।
यो बहुउद्देश्यीय भवन २०८५ वैशाखमा निर्माणसम्पन्न हुनेछ। यसभित्र साढे ३ सय कोठाको होटल, २५ सयसम्म अट्ने सभा हल, अपार्टमेन्ट र भाटभटेनीको स्टोर रहनेछ।
‘तीनवटा समूह मिलेर निर्माण थालेका हौँ। होटलको व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएका छौँ’, कम्पनीका अध्यक्ष गुरुङ भन्छन्, ‘सबै व्यवस्थापन आईटीसीले हेर्नेछ।’
डेला अन्नपूर्णको ४२ रोपनी जग्गामध्ये ५० प्रतिशत खुल्ला छाडी नयाँ संरचना बन्नेछ। अर्थात् २१ रोपनीमा भवनसहित बगैँचा निर्माण हुनेछ।
भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ। आर्किटेक्चर डिजाइन तयार भइसके पनि संरचना डिजाइन भने बन्दै छ। यसमा इन्टेरियर, कोठाहरुको डिजाइन भइरहेको छ।
होटलले थ्रिडीसहितका डिजाइन अन्तिम चरणमा पुगेको बताएको छ।
‘समानान्तर रुपमा एकै पटक ४ वटा कार्यक्रम गर्न सक्ने गरी हलहरु निर्माण हुँदै छन्’, अन्नपूर्ण स्क्वायरको निर्माण व्यवस्थापन गरिरहेका रामकृष्ण खतिवडा भन्छन्, ‘होटल, भाटभटेनी स्टोर र अपार्टमेन्ट गरी मिश्रित प्रयोगको अवधारणामा संरचना तयार हुनेछ।’
अहिले भइरहेको संरचना पूर्ण रुपमा भत्किने खतिवडाको भनाइ छ।
‘पछाडिबाट भवन संरचना भत्किँदै छ। केही समयमै पूर्णरुपमै भत्काउँछौँ, होटलका सबै संरचना नयाँ स्वरुपमा निर्माण हुँदै छ’, उनले भने।
होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ। अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ। ४० कोठा अपार्टमेन्ट हुनेछ। होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ।
साढे तीन सय कोठासहितको होटल निर्माण हुँदै छ। २५ सय, २ हजार र १५ सय अट्ने बैंक्वेट हल हुनेछन्।
अन्नपूर्ण होटलमा अहिले १ सय ५३ वटा कोठाबाट नयाँ योजनाअनुसार साढे ३ सय पुग्दै छन्। नयाँ संरचनाभित्र पर्याप्त पार्किङ स्पेस रहनेछ।
‘होटलको अन्डरग्राउन्डमा फराकिलो पार्किङ हुनेछ’, खतिवडाले थपे, ‘माथि होटलसहितका संरचना निश्चित क्षेत्रमा मात्रै निर्माण हुन्छन्।’

व्यवसायमा स्थापित हस्तीसँग साझेदारी
२५ तले भवनमा राणाले नेपालमा व्यवसायमा स्थापित व्यवसायीद्वय मीनबहादुर गुरुङ र उमेश श्रेष्ठसँग साझेदारी गरेकी हुन्।
गुरुङ पछिल्लो समय व्यवसायमा स्थापित भएका छन्। देशका मुख्य सहरमा भाटभटेनीको स्टोर पुर्याउँदै छन्। मंसिर १ गते मात्रै गुरुङले वस्तु व्यापार बढी गर्ने व्यवसायीको रुपमा आन्तरिक राजस्व विभागबाट सम्मान पाए।
गुरुङ परिवारको सुपरमार्केट मात्रै नभई अन्य क्षेत्रमा समेत लगानी छ। ४२ मेगावाटको मिस्त्रीखोला हाइड्रोपावर, कुमारी बैंक, चद्रागिरि हिल्स प्रालि आदिमा उनको लगानी छ।
यता उमेश श्रेष्ठ लिटिल एन्जल्स एजुकेसनका संस्थापक अध्यक्ष हुन्। श्रेष्ठको दोस्रो व्यवसाय हस्पिटालिटी हो। चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा उनको लगानी छ।
स्वास्थ्य क्षेत्रमा सिल्भरलाइन अस्पताल (साविक जनमैत्री) र महेन्द्रनारायण निधि अस्पतालमा लगानी गरेका श्रेष्ठ प्राइम कमर्सियल बैंकको ठूलो संस्थागत लगानीकर्तामध्ये पर्छन्। यसबाहेक आधा दर्जन हाइड्रो पावरमा उनको लगानी छ।
Shares

प्रतिक्रिया